कोरोनाकाे 'ओमिक्रोन' भेरियन्टको जोखिम बढेपछि जापानद्वारा विदेशी नागरिक प्रवेशमा रोक

 मंसिर १३, २०७८ सोमबार २०:१५:१७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – जापानले भाेलि मङ्गलवारदेखि विदेशी नागरिकलाई आफ्नो देश प्रवेश गर्न नदिने भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सम्भावित जोखिमका कारण जापानले भोलिदेखि लागू हुने गरी विदेशी नागरिकका लागि प्रवेश निषेध गरेको हो ।

सिमानामा कडाइका साथ परीक्षण गर्ने व्यवस्थासहित विश्वका कुनै पनि देशबाट आउने यात्रुलाई प्रवेशमा रोक लगाइएको प्रधानमन्त्री फुमियो किशिदाले बताउनुभएको बीबीसीले जनाएको छ ।

जापानमा यसअघि पनि धेरैजसो नाका बन्द गरिएको थियो भने विदेशबाट आउनेलाई परीक्षणमा कडाइ गरिएको थियो । नोभेम्बरको सुरुदेखि व्यवसायी, विदेशी विद्यार्थी र जापानको भिसा भएकालाई प्रवेशमा केही सहज बनाएकोमा फेरि कडाइ गरेको हो ।

यसैबीच अस्ट्रेलिया सरकारले आउँदो बुधवारदेखि अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने निर्णय तत्कालका लागि रद्द गरेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबारे थप जानकारी लिनुपर्ने भन्दै अस्ट्रेलियाले दुई हप्ता सीमा नाका बन्द गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ । प्रधानमन्त्री स्कट मरिसनले केही दिनअघि आउँदो बुधवारदेखि विदेशी विद्यार्थीसहित दक्ष कामदारलाई अस्ट्रेलिया प्रवेश गर्न दिने निर्णय गर्नुभएको थियो । अब कम्तीमा डिसेम्बर १५ सम्म अन्तर्राष्ट्रिय विद्यार्थी तथा विदेशी नागरिक अस्ट्रेलिया जान पाउने छैनन् । 

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अफ्रिकामा देखापरेको ओमिक्रोन भेरियन्ट के, कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ भन्नेबारेमा अनुसन्धान हुन बाँकी रहेको बताएको छ । विश्व स्वास्थ्य सङ्गठनले यो भाइरस मानिसबाट मानिसमा कति सजिलै सर्छ र यसले मानिसको स्वास्थ्यमा के, कति मात्रामा क्षति गर्छ भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

सुरुवाती विवरणमा बढी सङ्क्रामक रहेको पाइए पनि यसबारेमा थप विवरण आउन बाँकी रहेको विश्व स्वास्थ्य सङ्गलठनले बताएको बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया