नेपाल–भारत सीमा विवाद राष्ट्रिय हितलाई केन्द्रमा राखेर समाधान गर्न प्रधानमन्त्री ओलीको निर्देशन

 भदौ २८, २०७५ बिहिबार १४:५९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिनु भएको छ । 

प्रधानमन्त्री ओलीले दुई मुलुकबीचको सीमा समस्या समाधान गर्न हालसम्म प्राप्त ऐतिहासिक तथ्य र नक्सालाई मुख्य आधार बनाउन पनि नापी विभाग नेतृत्वको नेपाल– भारत अन्तराष्ट्रिय सीमासम्बन्धी समस्या समाधान गर्न गठित कार्य दललाई सचेत गराउनु भयो । 

नेपाल–भारत सीमा समस्या समाधानका लागि गठित कार्य दलको बैठक काठमाडौंमा बस्दैछ । त्यही बैठकमा नेपालले राख्ने प्रस्तावका विषयमा छलफल गर्न बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बोलाइएको बैठकमा प्रधानमन्त्री ओलीले दुई मुलुकबीचको सीमाको यकिन गर्न सीमा क्षेत्रमा रहेका दुवै मुलुकका सुरक्षा निकाय र स्थानीय प्रशासनसँग समन्वय गर्न पनि नापी विभागसहितका सम्बन्धित निकायलाई निर्देश गर्नुभयो ।

नेपालको हितलाई केन्द्रमा राखेर दुई मुलुकबीचको सीमा समस्या समाधानका लागि आवश्यक पहलकदमी लिन प्रधानमन्त्री ओलीले नापी विभागसहित सम्बन्धितलाई निकायलाई निर्देशन दिनु भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री ज्ञवाली, सुरक्षा निकायका प्रमुखहरु समेत सहभागी रहेको बैठकमा नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले नेपाल–भारतबीचका कतिपय ठाउँमा सीमा स्तम्भ हराएको, नदीले धार परिवर्तन गरेका कारण कतिपय ठाउँमा सीमा निर्धारणमा कठिनाई भएको लगायतका समस्या प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको थियो । 

प्रधानमन्त्री ओलीले सीमा यकिनसम्बन्धीसमस्या दुवै मुलुकको स्थानीय प्रशासनसँग छलफल गरेर समाधान गर्न निर्देशन दिनु भएको थियो । सीमा समस्या समाधानका लागि नेपाल–भारतबीच दुवै मुलुकको नापी विभागको नेतृत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलको बैठक आगामी साता काठमाडौंमा बस्दैछ ।


 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया