दिपायल विमानस्थलको स्तरोन्नतिको काम तत्काल सुरु हुन्छ : मन्त्री आले

 फागुन १५, २०७८ आइतबार ८:३९:२१ | विमल बिष्ट
unn.prixa.net

डोटी - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा ४२ सिटे जहाज सञ्चालनका लागि स्तरोन्नति गरिने बताउनुभएको छ । पर्यटक भित्र्याउनका लागि भए पनि दिपायल विमानस्थलमा ४२ सिटे जहाज सञ्चालन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'दिपायल विमानस्थलको स्तरोन्नति, जग्गा अधिग्रहण तथा टावर, टर्मिनल भवन निर्माणका लागि बजेट विनियोजन गरेका छाैँ, चाँडै नै यहाँ ४२ सिटे जहाज सञ्चालनमा ल्याउने गरी गृहकार्य अगाडि बढाएका छौँ, काम सुरु हुन्छ ।'

दिपालय विमानस्थल स्तरोन्नति, भवन निर्माण तथा जग्गा अधिग्रहणका लागि भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अध्यक्ष समेत रहनु भएका मन्त्री आलेले केही महिना पहिले १८ करोड रुपैयाँ बजेट विनियोजन गर्नुभएको थियो । विमानस्थल स्तरोन्नतिसहित अन्य विकासका कामका लागि आएको बजेट चाडै टेण्डर प्रक्रिया गरी काम सुरु हुने समेत मन्त्री आलेले जानकारी दिनुभयो ।

दिपायलसहित अछाम, बाजुरा, बझाङ, बैतडी तथा दार्चुला विमानस्थलको स्तरोन्नति तथा नयाँ निर्माण हुने डडेलधुरा विमानस्थलका लागि आवश्यक बजेट विनियोजन गरिएकाले ती विमानस्थलको काम पनि चाँडै सुरु हुने बताउनुभयो । उहाँले भन्नुभयो, 'बन्द अवस्थामा रहेका सुदूरपश्चिमका पहाडी जिल्लाका विमानस्थलमा अब नियमित जहाज चलाउन मिल्ने गरी काम हुने छ, पर्यटक तथा नागरिकको सहजताका लागि सबै विमानस्थल सञ्चालन हुन्छन्।'

यसैगरी मन्त्री आलेले कैलालीको धनगढीमा रहेकाे गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउनका लागि आवश्यक बजेट विनियोजन भइ थप कार्यक्रम सुरु भइरहेको जानकारी दिनुभयो । यस विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण सहितका कामका लागि मन्त्री आलेले एक अर्ब बजेट विनियोजन गर्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया