म्याग्दीको रत्नेचौरमा धार्मिक महोत्सव सुरु : समृद्धिको मुख्य आधार पर्यटन– मुख्यमन्त्री पोखरेल

 फागुन २३, २०७८ सोमबार २०:२७:१० | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समृद्धिको मुख्य आधार पर्यटन भएको बताउनुभएको छ । आज (सोमवार) म्याग्दीको बेनी नगरपालिका १  रत्नेचौरमा आयोजित धार्मिक महोत्सवको उद्घाटन गर्दै उहाँले प्रदेश विकास र समृद्धिको आधार पर्यटन भएको बताउनुभएको हो । 

मुख्यमन्त्री पोखरेलले प्रदेशभित्र रहेका स–साना धार्मिक सर्किटहलाई जोडेर गण्डकी प्रदेशमा धार्मिक पर्यटन बढाउने प्रदेश सरकारको उद्देश्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ मुक्तिनाथ–जनकपुर–लुम्बिनी–विन्ध्यावासिनी–मुक्तिनाथसहित अरू धार्मिक स्थलहरूलाई जोडेर धार्मिक पर्यटनलाई वृद्धि गर्ने प्रदेश सरकारको मुख्य उद्देश्य हो ।’

भर्खरै मात्र पोखरा–जनकपुर सिधा हवाई सेवाको आरम्भ गरेर दुई प्रदेशको बीचमा आपसी सम्बन्ध स्थापना गरिएको बताउँदै मुख्यमन्त्री पोखरेलले अब जनकपुरदेखि मुक्तिनाथसम्म धार्मिक पर्यटन वृद्धि हुने अपेक्षा गर्नुभयो । उहाँले पोखरा–जनकपुर हवाई उडान हुनु हिमाल र तराईको बीचमा सम्बन्ध विस्तार भएको बताउँदै यसबाट आउँदा दिनमा गण्डकी प्रदेशमा धार्मिकसँगै अन्य पर्यटनको पनि आगमन हुने बताउनुभयो । 

गण्डकी प्रदेशभित्र सबै चिजमा विविधता भएको र त्यसभित्र एकता रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले बहुभाषी, बहुधर्म र बहुजातिले प्रदेश सम्पन्नशाली रहेको उल्लेख गर्नुभयो । उहाँले समग्र गण्डकी प्रदेशलाई सबैको आस्थाको केन्द्रका रूपमा विकास गर्ने आफ्नो योजना रहेको बताउँदै यसमा सबैले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।   

मुख्यमन्त्री पोखरेलले कालीगण्डकी नदीको महत्त्वको बारेमा बताउँदै भन्नुभयो, ‘कालीगण्डकी हाम्रो आस्था हो । एउटा संस्कृति हो । हाम्रो धरोहर हो र यो शालिग्राम पाइने एउटा पवित्र नदी पनि हो । शालिग्राम पाइने नदीमार्फत विश्वमा चिनाउने प्रदेशभित्र हामी पर्नु कालीगण्डकीको योगदान हो । कालीगण्डकीलाई कसरी हामीले यसलाई अगाडि बढाउन सक्छौं भनेर पहिलोपटक सरकारी तवरबाट कार्यदल गठन गरी एउटा प्रतिवेदन लिँदैछौँ ।’ 

प्रतिवेदन प्राप्त भएपछि विश्वमै एकमात्र शालिग्राम पाइने कालीगण्डकी नदीको संरक्षण तथा विकासका लागि आवश्यक योजना अगाडि बढ्ने मुख्यमन्त्री पोखरेलको भनाइ छ । उहाँले धार्मिक नेताहरूले समाजको विकासमा ठूलो योगदान पुर्‍याएकाे चर्चा पनि गर्नुभयो ।  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया