‘हामी स्विट्जरल्यान्ड, सिङ्गापुर घुम्न गइरहेका छौँ तर त्यो प्राकृतिक होइन, आफ्नै ठाउँकाे विकास गराैँ’

 फागुन २४, २०७८ मंगलबार १७:४१:४ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको चार जिल्ला– बझाङ, बाजुरा, अछाम र डोटीको सङ्गम स्थल खप्तड प्रकृतिको अनुपम उपहार भएको बताउनुभएको छ ।

खप्तड पर्यटन विकास समितिद्वारा आज मङ्गलवार आयोजित 'खप्तडको पर्यटन विकासका लागि अन्तक्रिया' कार्यक्रमलाई काठमाण्डौमा सम्बोधन गर्दै मन्त्री आलेले खप्तड जस्तो प्राकृतिक सुन्दरता भएको ठाउँ अरू कतै नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी स्विट्जरल्यान्ड, सिङ्गापुर घुम्न गइरहेका छौँ तर त्यो प्राकृतिक होइन, कृत्रिम हो । हाम्रै देशमा भएका प्रकृतिले दिएका खप्तड, रारा जस्ता प्राकृतिक ठाउँको विकास गरौँ, पर्यटक आउने छन् ।’  

मन्त्री आलेले रकमान्तर भएको बजेट खप्तडको विकासका लागि छट्याएर अर्थ मन्त्रालयमा पठाएको समेत जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आउँदो वर्षको बजेटका लागि खप्तडको मास्टर प्लान बनाएर दिएको खण्डमा थप बजेट विनियोजन गर्न सकिने छ ।’ खप्तडको समग्र विकासका लागि विगतमा पनि राष्ट्रिय योजना आयोगका सुशील भट्टलाई आग्रह गरी सिलगढीदेखि झिग्रानासम्म पर्यटकको सहजताका लागि सडक बनाउन ३६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । 

यसैगरी मन्त्री आलेले खप्तडमा पर्यटक सहजै भित्र्याउनका लागि खप्तड पर्यटन विकास समितिले योजना बनाए आफू पर्यटन मन्त्री भएका कारण आफ्नो तर्फबाट सक्दो सहयो गर्न तयार रहेको आश्वासन दिनुभयो ।
मन्त्री आलेले गौतमबुद्ध जन्मेको देश, सगरमाथाको देश भनेर चिनिने अनि १४ औँ पटक हिमाल चढ्ने निर्मल पुर्जा जस्ता व्यक्तिहरू भएको नेपाललाई विश्वसामु चिनाउन आफू अहोरात्र खटिएको समेत जानकारी दिनुभयो । 

यसैगरी मन्त्री आलेले एक हप्ता अघि एसियाली विकास बैंक (एडीबी) का कन्ट्री डाइरेक्टर अर्नाओटलाई आफूले खप्तड लगेको र धनगढी, खुटिया, दिपायल, बझाङ चैनपुर हुँदै उरैताक्लाकोट र चीनसम्म पुग्न जम्मा तीन सय ४० किमी भएकाले त्यस क्षेत्रमा दु्रर्त मार्गको सहयोगका आफूले आग्रह गरेको बताउनुभयो ।

कार्यक्रममा खप्तड पर्यटन विकास समिति अध्यक्ष हर्कबहादुर सिंहले खप्तडको विकासका लागि आफूह सबै निकायसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो । खप्तड आउने पर्यटकले कम्तीमा पनि दुई–तीन दिन वास बस्न सके त्यहाँको वास्तविक उपहार चिन्न सक्ने जानकारी दिनुभयो ।

यसैबीच आफू मन्त्री भएर आइसकेपछि सरकारले क्यासिनोबाट उठाउनुपर्ने ८७ करोड रुपैयाँ रोयल्टी आफूले उठाएको मन्त्री आलेले सुनाउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया