कांग्रेसले रुखबाहेक अन्त भाेट हाल्दैन, सुदूरपश्चिममा चुनावी गठबन्धन हुँदैन : सभापति बलायर

 फागुन ३०, २०७८ सोमबार १८:१५:५७ | विमल बिष्ट
unn.prixa.net

डोटी – नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवम् पूर्वमन्त्री वीरबहादुर बलायरले सुदूरपश्चिममा चुनावी गठबन्धन नहुने बताउनुभएको छ । नेपाली कांग्रेस डोटीले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत बडीकेदार गाउँपालिकाको खड्यौलीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले सुदूरपश्चिममा अहिलेसम्म गठबन्धन नभएको र अबका दिनमा पनि नहुने बताउनुभएको हो ।

नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को गठबन्धन सरकार रहेको सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेससँग गठबन्धनमा नरहेको स्पष्ट पार्दै सभापति बलायरले चुनावमा पनि गठबन्धन नहुने बताउनुभएकाे हाे । माओवादी र एकीकृत समाजवादीले एकातर्फ गठबन्धन भन्ने तर अर्कातर्फ कांग्रेसलाई पेल्ने गरेकाले पनि गठबन्धन नहुने उहाँको जिकिर थियो । 

सुदूरपश्चिममा कांग्रेस एक्लैले बहुमत ल्याएर विजयी हुने दाबी गर्दै उहाँले अघिल्लो चुनावमा बढी मत बदर भएका कारण पार्टीमा डोटीमा सङ्घीय संसदकाे चुनावमा हार बेहाेर्नुपर्काे दाबी गर्नुभयो । उहाँले आउँदाे चुनावमा मतदाता शिक्षालाई प्रभावकारी बनाउन नेता कार्यकर्तालाई सुझाव दिनुभयाे । 

नेपाली कांग्रेसका नेता कार्यकर्ता र जनताले कुनै पनि हालतमा आफ्नो चुनाव चिह्न ‘रुख’ बाहेक अन्त मत हाल्न नसक्ने उहाँकाे भनाइ छ । बलायरले भन्नुभयो, ‘अन्य ठाउँमा के हुन्छ थाहा छैन, सुदूपश्चिममा गठबन्धन छैन र हुँदैन । कांग्रेसका हातले रुख चुनाव चिह्नबाहेक अन्त भोट हाल्दैन ।’ 

नेपाली कांग्रेस डोटीले जिल्लाका नौ वटै पालिकामा ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गरिरहेको छ । हिजाे आइतवार जोरायल गाउँपालिकाबाट सुरु गरिएको अभियान आज ३० गते बडीकेदारमा सञ्चालन गरिएको हाे । यस्तै चैत १ गते बोगटान फुड्सिल, २ गते केआईसिंह, ४ गते सायल, ५ गते आदर्श गाउँपालिका तथा ६ गते दिपायल सिलगढी नगरपालिका, ७ गते पूर्वीचौकी गाउँपालिका र ८ गते शिखर नगरपालिकामा सञ्चालन गरिने जिल्ला सभापति नरेन्द्र सिंहले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Ramesh Bhattarai

    March 14, 2022, 8:13 p.m.

    प्रचण्ड र माकुनेको निन्द्रा हराम हुने भयो।

  •  0 Reply

तपाईको प्रतिक्रिया