गौतम बुद्ध विमानस्थलमा नियमित उडानका लागि ५ कम्पनी सम्पर्कमा

 चैत १, २०७८ मंगलबार १३:५४:३५ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डौ – भर्खरै निर्माण सम्पन्न भइ व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँच वायु सेना कम्पनी सम्पर्कमा आएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गौतम बुद्ध विमानस्थलबाट चाँडो भन्दा चाँडो अन्तर्राष्ट्रिय उडान गराउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनु भएसँगै अहिले पाँच कम्पनी सम्पर्कमा आएका हुन् । कुवेतको जजिरा, श्रीलङ्काको श्रीलङ्कन, नेपाल वायु सेवा निगम, कतार एअरवेज, थाइल्यान्डको थाई स्माइल वायु सेवा कम्पनी नियमित उडान–अवतरणका लागि सम्पर्कमा आएका प्राधिकरणले जनाएको छ ।

यो विमानस्थल सञ्चालनमा आएपछि धार्मिक, पर्यटनसँगै खाडी देशमा रोजगारीका लागि आउजाउ गर्ने यात्रुलाई थप सहज हुने भएकाले पनि तोकिएकै मितिमा विमानस्थल सञ्चालनमा ल्याउन आफूले निर्देशन दिँदै आएको मन्त्री आलेको भनाइ छ । 

विभिन्न कम्पनी सम्पर्कमा आएसँगै थप अध्ययनको काम सकेर उडान–अवतरणका लागि अनुमति दिइने प्राधिकरणका महानिर्देशक तथा इन्जिनियर प्रदीपकुमार अधिकारीले बताउनुभयो । व्यावसायिक उडानका लागि केही दिन पहिले नागरिक उड्डयन प्राधिकरणले ‘एरोनोटिकल पब्लिकेशन इन्फर्मेशन’ समेत जारी गरिसकेको छ । यो विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ, कार्गो, क्याट्रिङ लगायतको व्यवस्थापन गर्न बाँकी रहेकाले त्यो काम सकिनेबित्तिकै अनुमति दिइने नेपाल नागरिक उड्डयन प्राधिकरण बबरमहलले जनाएको छ ।

यसैगरी आवश्यक जनशक्तिको अभाव रहेका कारण केही काममा समस्या भइरहेको गौतम बुद्ध विमानस्थलमा प्रमुख गोविन्दप्रसाद दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार यो विमानस्थलका लागि कुल एक सय ५१ जनशक्तिको स्थायी दरबन्दी रहे पनि अहिले ३६ जनाले मात्रै काम गरिरहेका छन् । विमानस्थलका प्रमुख दाहालले विमानस्थलको सुरक्षालगायत अन्य कामका लागि नेपाल प्रहरीको कम्तीमा पनि एक सय ७० र नेपाली सेनाको एक सय ७० दरबन्दी रहेको छ । यसैगरी मेट्रोलोजी विभागका कर्मचारी परिचालन निश्चित भइसकेको र भन्सार तथा अध्यागमनका प्राविधिक टोलीले निरीक्षण गरिसकेको छ । विमानस्थल सञ्चालनमा ल्याउनका लागि आवश्यक पर्ने जनशक्ति पठाउनसमेत मन्त्री आलेले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

आउँदो जेठ २ गतेदेखि यो विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान–अवतरण सुरु गर्ने प्राधिकरणको लक्ष्य रहेको छ । 

यो विमानस्थलमा कम्बोडिया, म्यानमार, श्रीलङ्कालगायत विभिन्न बौद्ध धर्मावलम्बी भएका देशसँगै श्रमिक गन्तव्यमा उडान सेवा दिँदै आएका वायु सेवा कम्पनीको सम्भावना उल्लेख्य रहेको प्राधिकरणले जनाएको छ । यो विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको जिम्मा पाएको वायु सेवा निगमले छिट्टै आफ्नो कामको तयारी गर्ने निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ग्राउन्ड ह्यान्डलिङ तयारीका लागि निगमका प्राविधिक जनशक्ति भैरहवा पुगिसकेका छन् । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया