म्याग्दीको वनपाखामा ढकमक्क फूल्यो लालीगुराँस, रमाउँदै पर्यटक

 चैत ५, २०७८ शनिबार १६:३०:१२ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – निलो आकाशमुनि भिरालो जमिन । कतै घाँसे मैदान छ त कतै झाडी र बुट्यान । लेकाली क्षेत्रको विभिन्न स्थानमा गुराँसे जङ्गल पनि छ । त्यही वनजङ्गलमा रहेका गुराँसका रुखमा यतिबेला ढकमक्क लालीगुराँस फुलिरहेको छ । 

वसन्त ऋतुको आगमनसँगै फुल्न थाल्छन् गुराँस । बेहुलीको सिउँदो जस्तै रङ्गिएका छन् लेकाली क्षेत्रका पहाडहरु । ढकमक्कै लालीगुराँस फुल्दिएपछि लेकाली पहाडमा बैंस चढेको छ । यही गुराँसको सौन्दर्यताले पर्यटकलाई खुब लोभ्याउँछ । गुराँस हरियो र खस्रा पात हुने तथा रातो, गुलाफी, सेतोलगायत अनेक रङको थुङ्गा फूल फुल्ने वृक्ष हो । 

वसन्त ऋतुको आगमनसँगै हिमाली जिल्ला म्याग्दीको वनपाखामा गुराँस फुलेको छ । वसन्त ऋतु सुरु हुनुअगावै गुराँस फुलेपछि खासगरी म्याग्दीका लेकाली क्षेत्रहरु अहिले नवदुलही जस्तै सिङ्गारिएका छन् । फागुनदेखि जेठ महिनासम्म वनजङ्गलमा लालीगुराँस फुल्ने गर्दछ । नेपालको राष्ट्रिय फूलको मान्यता पाएको लालीगुराँस फुलेसँगै पर्यटकीय गन्तव्यका क्षेत्रहरुमा छुट्टै खालको रौनक छाएको छ । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय क्षेत्र पुनहिल, घोरेपानी, राम्चे, घारलगायत क्षेत्रको अधिकांश वनपाखामा गुराँस फुलेर राताम्य भएको छ । यसैगरी रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिका तथा बेनी नगरपालिकाको पर्यटकीयस्थल केभहिल, भकिम्लीलगायत क्षेत्रमा पनि गुराँस फुलेको छ ।

वनपाखामा लालीगुराँस फुलेर राताम्य देखिएपछि पर्यटकहरु पुगेर रमाउन थालेका छन् । लामो समय कोरोना भाइरस र लकडाउनका कारण घरभित्रै बस्न बाध्य नेपालीहरु पर्यटकीय सिजन सुरु भएपछि विदा मनाउन तथा साथीभाइसँग पर्यटकीय क्षेत्रको भ्रमणमा निस्किएका छन् । 

उत्तरी अन्नपूर्ण गाउँपालिका–६, घारस्थित    समुन्द्री सतहदेखि २ हजार ८ सय ७४ मिटरको उचाइमा अवस्थित घोडेपानी तथा ३ हजार २ सय १० मिटरमा रहेको पुनहिल आसपासको वनजङ्गल क्षेत्रमा विभिन्न प्रजातिका गुराँसहरु फुलेको स्थानीयले बताएका छन् । नेपालको वन जङ्गलमा ३१ प्रजातिका लालीगुराँस पाइने पहिचान भए पनि घोरेपानी क्षेत्रमा मात्रै विभिन्न ८ प्रजातिका गुराँसहरु फुल्ने गरेको अनुमान छ । नेपालको राष्ट्रिय फुल लालीगुराँससहित म्याग्दीमा १० प्रकारका गुराँसहरु फुल्ने गर्दछन् । म्याग्दीका वनमा रातो, सेतो र कलेजी रङका गुराँसहरु फुल्ने गरेको स्थानीयको भनाइ छ । 

लालीगुराँस फुलपछि ग्रामीण क्षेत्रको सौन्दर्य समेत बढेको छ । घोरेपानी र पुनहिलसहित जिल्लाको लेकाली क्षेत्रमा फुलेको गुराँसको आकर्षणले पर्यटकहरु लालायित भएका छन् । कोरोनाको त्रासले सहरबाट गाउँ पसेकाहरु, लालिगुराँस फुलेको हेर्न डाँडाकाँडा चहार्न थालिसके । वसन्त ऋतुमा मनै लोभ्याउने गरी फुल्ने लालीगुराँससँगै टाँसिएर फोटो, भिडियो खिच्न र सेल्फी लिन पर्यटकहरु पुग्ने गर्दछन् । 

वनपाखामा फुलेको लालीगुराँसलाई पृष्ठभूमीमा पारेर मोबाइलमा सेल्फी खिचेर रमाउन पाइने भएपछि पर्यटकहरुको आकर्षण बढेको हो । अन्नपूर्ण गाउँपालिकाको भ्रमणमा निस्कनुभएकी म्याग्दी बहुमुखी क्याम्पसको प्राध्यापक विष्णुकुमारी रोकाले लालीगुरासँगै टाँसिएर फोटो खिच्न पाउँदा आफूलाई रमाइलो लागेको अनुभव सुनाउनुभयो । उहाँले आफ्नो अनुभवलाई यसरी वर्णन गर्नुभयो, ‘हामी झण्डै २ वर्षदेखि कोरोना र लकडाउनले गर्दा एउटा साँघुरो घरभित्र बसिरहनुपर्ने अवस्थामा अहिले कोरोना संक्रमणको दर घट्दो क्रममा रहेकाले बाहिर निस्कियौं । यसरी बाहिर निस्किएर स्वतन्त्रताको महसुस गर्न पाउँदा त आफैमा खुसीको कुरा छ । त्यसैमाथि पनि अहिले जुन गुराँसको सिजन छ, यो बेला हिमालको अगाडि गुराँससित आफूलाई पाउँदा मनमा एकदमै आनन्दको अनुभूति भाको छ । लकडाउनचाहिँ बिर्साउने खालको खुसी प्राप्त भएको छ ।’

म्याग्दी जिल्लामा अहिले कुल ३ सय १४ वटा सामुदायिक वनहरु रहेकोमा सबै वन क्षेत्रमा गुराँस प्रजातिका बोटविरुवा पाइन्छन् । पछिल्लो समय जलवायु परिवर्तनको असरले गर्दा तापक्रममा वृद्धि भएपछि समयभन्दा अगावै फुल फुल्ने विरुवाहरु चाँडै नै फुल्ने गरेको डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले बताउनुभयो । उहाँले तल्लो क्षेत्रमा पुस–माघ र माथिल्लो क्षेत्रमा फागुन महिनापछि लालीगुराँस फुल्ने गरेको जानकारी दिनुभयो । 

म्याग्दी जिल्लाको वन क्षेत्रमा झण्डै १० प्रजातिका गुराँसहरु पाइने अनुमान गरिएको छ । गण्डकी प्रदेशमा गुराँसको राजधानी र सबैभन्दा ठूलो गुराँसे जङ्गलका रुपमा म्याग्दीको अन्नपूर्ण गाउँपालिमा पर्ने पुनहिल–घोडेपानी र राम्चे क्षेत्रलाई मानिएको छ । यस क्षेत्रमा मात्रै विभिन्न ८ प्रजातिका लालीगुराँसहरु पाइने स्थानीयवासी बताउँछन् । 

नेपालमा सबैभन्दा ठूलो गुराँसको जङ्गल संखुवासभा, ताप्लेजुङ र तेह्रथुम जिल्लाको सङ्गमस्थलमा पर्ने तिनजुरे–मिल्के–जलजले (टिएमजे) संरक्षित क्षेत्रलाई मानिएको छ । यसलाई नेपालमा गुराँसको राजधानी समेत भनेर चिनिन्छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया