राष्ट्रिय सङ्ग्रहालयलाई सार्कस्तरको बनाउनुपर्छ : मन्त्री आले

 चैत ७, २०७८ सोमबार २०:९:३७ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले काठमाण्डौको छाउनीमा रहेको राष्ट्रिय सङ्ग्रहालयलाई सार्क राष्ट्रस्तरको बनाउनुपर्ने बताउनुभएको छ । ६३ औँ राष्ट्रिय सङ्ग्राहलय स्थापना दिवसका अवसरमा आज सोमवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले राष्ट्रिय सङ्ग्रहालयलाई स्तरोन्नित गर्दै सार्क राष्ट्रस्तरको बनाउनुपर्ने बताउनुभयो ।

मन्त्री आलेले राष्ट्रिय सङ्ग्रहालयलाई स्वदेशी तथा विदेशी सङ्ग्रहालयसँग आपसी भगिनी सम्बन्ध कायम गरी सङ्ग्रहालयको ज्ञान, सीप तथा कलाहरू आदानप्रदान गर्न सके नेपालको कला, पहिचान स्थापित हुनुका साथै सङ्ग्रहालय पर्यटन गन्तव्यका रूपमा स्थापित हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको विविध पक्षको ज्ञान हासिल गर्न एउटै थलोका रूपमा रहेको राष्ट्रिय सङ्ग्रहालयलाई अझै बढी प्रचारप्रसार गरी देशको एउटा पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक छ ।’

राष्ट्रिय सङ्ग्रहालयको वार्षिक बजेट पनि थोरै (तीन करोड रुपैयाँ) भएकाले अबको बजेटमा रकम थप गरिने मन्त्री आलेले जानकारी गराउनुभयो । यसैगरी उहाँले राष्ट्रिय सङ्ग्रहालयमा देशसँगै विदेशबाट पनि पर्यटक आउने भएकाले यस क्षेत्रमा सरसफाइदेखि फूलहरू रोपेर सुन्दर बनाउनुपर्ने धारणा राख्नुभयो । 

नेपालका प्रथम प्रधानमन्त्री जनरल भीमसेन थापाले विसं १८८१ मा स्वदेशी तथा विदेशी हातहतियार जम्मा गरिएकाले सुरुमा यस सङ्ग्रहालाई सिलखाना भनिएको र युरोपेली वास्तु शैलीमा निर्माण गरिएको समेत मन्त्री आलेले जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सङ्ग्रहालयमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई समेत सम्मान गरिएको थियो । मन्त्री आलेले राष्ट्रिय सङ्ग्रहालयको ऐतिहासिक भवनभित्र रहेको मुस्ताङ कक्षको पनि उद्घाटन गर्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया