मन्त्री आलेको निम्ताे स्वीकार्दै सलमान खानले भने– ‘सुन्दर देश घुम्न आउँछु’

 चैत ९, २०७८ बुधबार १८:५७:२६ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि भारतीय अभिनेता सलमान खानलाई निमन्त्रणा दिनुभएको छ । ओडीसी इन्टरटेनमेन्ट परिवार लाजिम्पाटले आज बुधवार सोल्टी होटलमा आयोजना गरेको मन्त्री आले र अभिनेता सलमानबीचको भिडियो संवादमा मन्त्री आलेले सगरमाथा आरोहणका लागि निमन्त्रणा दिनुभएको हाे । 

संवादका क्रममा मन्त्री आलेले भन्नुभयो, सलमानजी सगरमाथा विश्वमै सर्वोच्च शिखरका नामले चर्चित छ, सगरमाथा आरोहणसहित सगरमाथा क्षेत्रमा हवाई यात्रा गर्नका लागि म निमन्त्रणा गर्दछु । नेपालमा तपाईँका धेरै फ्यान छन् । नेपाल आएर यहाँका विभिन्न पर्यटकीय क्षेत्रमा टीभी शो, चलचित्र सुटिङ गर्नुहोस् ।’ नेपालमा कोरोना सङ्क्रमण घट्दै गएकाले नेपाल अहिले पर्यटनका लागि खुला भएको पनि मन्त्री आलेले जानकारी गराउनुभयो । संवादकै क्रममा मन्त्री आलेले सलमान खानका चलचित्रका बारेमा प्रशंसा गर्नुभएको थियो ।

मन्त्री आलेले दिनुभएको निमन्त्रणा स्वीकार गर्दै अभिनेता खानले आफू नेपाल आउने र विश्वको सर्वोच्व शिखर सगरमाथा आरोहण गर्ने बताउनुभयो । उनले भने, ‘म केही समयमा नेपाल आउँछु, तपाईँले दिनुभएको निमन्त्रणाअनुसार सगरमाथा आरोहण गर्नेछु र भ्रमण गर्नेछु ।’ यसैगरी अभिनेता खानले मन्त्री आलेको यो प्रस्तावलाई सकारात्मक रूपमा लिँदै नेपाल सुन्दर देश रहेको र यसको पर्यटन प्रवर्द्धनमा आफ्नो तर्फबाट सहयोग गर्ने वचन पनि दिए । 

अभिनेता खानले काठमाण्डौको दशरथ रङ्गशालामा हुने कार्यक्रमका लागि आउँदो जेठ १४ गते नेपाल आउन लागेको जानकारीसमेत गराए । मन्त्री आले र अभिनेता खानबीच झन्डै १० मिनेट लामो भिडियो संवाद भएको थियो ।

दशरथ रङ्गशालामा हुने ‘दबङ रिलोडेड टुर’ का लागि ओडीसी इन्टरटेनमेन्टले भारतीय अभिनेता सलमान खानलाई नेपाल ल्याउन लागेको हो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया