अब पोखरा विश्वसँग जोडिने छ : मन्त्री आले

 चैत १३, २०७८ आइतबार १४:२९:४२ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले अब पोखरालाई विश्वसँग जोड्ने बताउनुभएको छ । चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेसँगै हिजो शनिवार विमानस्थल निर्माण कम्पनीलाई कदरपत्र प्रदान गर्दै उहाँले भन्नुभयो, ‘नेपाली पर्यटन क्षेत्रको गहना पोखरा विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो, अब यो अन्तर्राष्ट्रिय पर्यटन बजारसँग सिधै जोडिएको छ, यो विमानस्थलले पोखरालाई विश्वमाझ पुर्‍याउने छ ।’ 

मन्त्री आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि अब नेपालको पर्यटन प्रवद्र्धन गर्न तथा नेपालमा बढीभन्दा बढी पर्यटक भित्रयाउन थप टेवा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पोखरा संसारका पर्यटकहरूको आकर्षणको केन्द्र हो । मलाई लाग्छ, आफ्नो व्यस्तताबाहेक नेपाल आएका पर्यटकहरू पोखरा नपुगी फर्किन मान्दैनन्, त्यसैले अब यो विमानस्थलले पोखरा आउन चाहने पर्यटकका लागि सजिलो बनाउने छ ।’ 

मन्त्री आलेले पोखरेली र पोखराका पर्यटन व्यवसायीलाई बधाई दिँदै पोखरामा अब ठूला होटल निर्माण गर्न र पर्यटन प्रवद्र्धनका प्याकेज कार्यक्रम ल्याउन पनि आग्रह गर्नुभयो । ठूला होटल तथा क्यासिनो खोल्नका लागि पर्यटन मन्त्रालयले आवश्यक सहयोग गर्नेसमेत उहाँले जानकारी दिनुभयो ।

विभिन्न पूर्वाधार निर्माण गरी यहाँ आउने पर्यटकहरूलाई धेरै दिन बास बसाउन सक्ने कार्यक्रम ल्याउन मन्त्री आलेले पोखराका पर्यटन व्यवसायीहरूलाई आग्रह गर्नुभयो । पोखरामा थप पर्यटक भित्र्याउन त्यहाँ रहेको रत्नमन्दिर खुलाउनका लागि त्यहाँका नागरिकले आग्रह गरेकाले आफूले सम्बन्धित निकायमा खबर गरी त्यो मन्दिरको ढोका खोल्न भनेको र अब त्यो पनि खुल्ने जानकारी उहाँले दिनुभयो । 

यस्तै मन्त्री आलेले पोखराबाट अन्तर्राष्ट्रिय क्षेत्रमा उडान गर्दा टनकपुर हुँदै दिल्ली जाने र फर्किँदा त्यो रुट नेपालका हवाईजहाजले नपाउने भएकाले आफू भारतको हैदराबाद गएर त्यहाँका आफ्ना समकक्षी आदित्यनारायण सिन्धियासँग कुरा गरेको र उहाँ सकारात्मक रहेको जानकारी पनि दिनुभयो । 

मन्त्री आलेले सम्झिनुभयो स्व. रवीन्द्र अधिकारी

त्यही कार्यक्रममा मन्त्री आलेले पोखरा विमानस्थल निर्माणको जग बसाल्न लागिपरेको भन्दै तत्कालीन पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीको पनि स्मरण गर्नुभयो । त्यो विमानस्थल निर्माण सम्पन्न हुनुमा पूर्वमन्त्री अधिकारीको ठूलो योगदान रहेको उहाँले बताउनुभयो । मन्त्री आलेले भन्नुभयो, ‘यो विमानस्थल निर्माण गर्न स्व. अधिकारीको सहयोग कहिल्यै बिर्सिन हुँदैन । विकासप्रेमी मेरा परममित्र रवीन्द्रजीको देनले हामीले यो विमानस्थल निर्माण सम्पन्न गराउन सफल भएका छौँ, उहाँलाई हामीले कहिले बिर्सिनु हुँदैन ।’ 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया