डेढ दशकपछि खुल्यो धनगढी–दिपायल द्रुतमार्गको ट्रयाक

 बैशाख ६, २०७९ मंगलबार ११:४०:५७ | विमल बिष्ट
unn.prixa.net

डाेटी - कैलालीको धनगढीदेखि डोटीको दिपायल राजपुरसम्मको द्रुतमार्गको ट्रयाक खुलेको छ । द्रुतमार्ग निर्माणको प्रक्रिया सुरु भएको झन्डै डेढ दशकपछि ट्रयाक खुलेको हो । धनगढी–दिपायल ट्रयाक जोडिएपछि नागरिक खुसी भएका छन् ।

आफूले उत्पादन गरेका वस्तु बजारसम्म पुर्याउन सहज हुने वीपीनगरका स्थानीय बासिन्दा रोजबहादुर कल्लेलले बताउनुभयो । कैलालीको चुरे गाउँपालिका–१ बबैना–ओजेना तीन किलोमिटर सडक खण्डको ट्रयाक खुलेसँगै खुटिया, वीपीनगर, गड्सेरा हुँदै दिपायल राजपुर जोड्ने द्रुतमार्गको ट्रयाकको काम पूरा भएको हो ।

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले हिजो धनगढी–दिपायल ट्रयाकको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ । ट्रयाक खोल्ने काम सकिए पनि गाडी सञ्चालन गर्न ग्रेडिङ गर्ने कार्य बाँकी रहेको द्रुतमार्ग निर्माण आयोजनाका इञ्जिनियर दिनेश रैखोलाले जानकारी दिनुभयो । उहाँका अनुसार कैलाली र डोटी सडक खण्डमा अब ग्रेडिङ गर्ने कार्य अघि बढाइनेछ ।

२०६४ सालमा खुटिया, वीपीनगर, गड्सेरा हुँदै दिपायल द्रुतमार्गको औपचारिक रुपमा सर्भे गरी ट्रयाक खोल्ने कार्यको थालनी गरिएको थियो । त्यसबेला खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भए पनि पछि कैलालीको स्याउलेबाट धनगढीसम्मको १० किलोमिटर सडक थपेर ९२ किलोमिटरको धनगढी–दिपायल द्रुतमार्ग बनाउने निर्णय भएको थियो ।

खड्का कृष्ण नारायणम् जेभीले भ्याटबाहेक १६ करोड ४० लाख रुपैयाँमा कामको ठेक्का पाएपछि धनगढीको पिपलचौताराबाट स्याउलेसम्मको १३ दशमलव ४ किलोमिटरमा कालोपत्र गर्नका लागि काम सुरु भएको थियो ।

द्रुतमार्ग आयोजना कार्यालयका अनुसार चालु आर्थिक वर्षमा धनगढीबाट १३ दशमलव ४ किलोमिटर र डोटीको दिपायल राजपुरबाट ९ दशमलव ५ किलोमिटर सडकमा कालोपत्र गर्ने सम्झौता भएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया