चलेन देउवा र भट्टराईको ‘जोर’ : पालुङटारमा तालमेलको प्रयास असफल

 बैशाख २१, २०७९ बुधबार १८:५७:४९ | किरण लोहनी
unn.prixa.net

गाेरखा – गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीचको चुनावी तालमेलको प्रयास असफल भएको छ । दुवै पार्टीको केन्द्रीय नेतृत्वले पालुङटारमा चुनावी तालमेल गर्न निर्देशन दिएका थिए । तर नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले आज बुधवार एक्लै चुनावी प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो ।

जनता समाजवादी पार्टी र कांग्रेसबीच गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा चुनावी तालमेल गर्ने सहमति भएको थियो । तर गोरखा नगरपालिकामा जसपाले नेकपा माओवादी केन्द्रसँग तालमेल गरेपछि पालुङटारमा चुनावी सहकार्य हुने वातावरण नबनेको कांग्रेस जिल्ला कार्यसमितिका सभापति नन्दप्रसाद न्यौपानेले बताउनुभयो । उहाँका अनुसार जसपाले पालुङटारको मेयर लिने र उपमेयर कांग्रेसलाई दिने तथा गोरखा नगरपालिकामा कांग्रेसले मेयर लिएर जसपालाई उपमेयर दिने गरी चुनावी तालमेलको प्रयास भइरहेको थियो । तर जसपाले गोरखा नगरपालिकामा उपमेयर पाउने गरी कांग्रेससलाई मेयरमा समर्थन गरेकाले आपसी विश्वास कायम रहन नसकेको उहाँको भनाइ छ । 

गाेरखाकाे ११ वटै पालिकामा सत्ता गठबन्धन बनाएर उम्मेदवारी दिने अवस्था नबनेपछि चार वटै दलले छुट्टाछुट्टै मनोनयन दर्ता गराएका थिए । यसबीचमा जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले पालुङटार नगरपालिकाको मेयर आफ्नो पार्टीले पाउनुपर्ने भन्दै कांग्रेस सभापति देउवासँग छलफल अघि बढाउनुभएकाे थियाे ।

उम्मेदवारी मनोनयन फिर्ता लिने दिन वैशाख १६ गते बेलुका देउवाले निर्वाचन अधिकृतको कार्यालयमा पत्र लेखेर आफ्नै पार्टीका मेयर उम्मेदवार कँडेलको टिकट खोस्नुभएकाे थियाे । तर उम्मेदवारी फिर्ता लिएको पत्र बेलुकी ५ बजेभन्दा ढिलो प्राप्त भएको भन्दै निर्वाचन अधिकृतले कँडेलको उम्मेदवारी कायम राखेका थिए । पालुङटारका कांग्रेसका नेता, कार्यकर्ताले सभापति देउवाको त्याे निर्णयकाे विरोध गरेका थिए ।

त्यसलगत्तै सभापति देउवाले कँडेललाई वैशाख १८ गते काठमाण्डाै बोलाएर जसपाका उम्मेदवारलाई समर्थन गर्न दबाब दिनुभएकाे थियाे । कँडेलले पार्टीको निर्देशन मान्ने तर पालुङटारका १० वटै वडाको नेतृत्व कांग्रेसले पाउनुपर्ने अडान राख्नुभएको थियो । तालमेलको प्रयासका लागि जिल्ला तहमा त्यसपछि पनि दुई पार्टीबीच छलफल भएको थियो । जसपा नेता भट्टराई पनि तालमेलको टुङ्गो लगाउन गृहजिल्ला गोरखा आइपुग्नुभएको थियो । वडाको नेतृत्व बाँडफाँटकाे विषयमा कुरा नमिलेको र जसपाले गोरखा नगरपालिकामा अर्कै पार्टीसँग तालमेल गरेर अघि बढेपछि दुई पार्टीबीचको तालमेलको प्रयास असफल भएको कांग्रेस जिल्ला सचिव किशोरजङ्ग थापाले बताउनुभयो । 

जिल्ला कार्यसमितिले एक्लै चुनावमा जाने निर्णय गरेपछि पालुङटारमा कांग्रेसका उम्मेदवारहरूले प्रचारप्रसार सुरु गरेका छन् । जिल्ला कार्यसमितिका पदाधिकारीसमेत उपस्थित रहेका पत्रकार सम्मेलनमा बोल्दै नगर कार्यसमिति सभापति विमल ढकालले प्रचारप्रसारलाई तीव्र बनाउन उम्मेदवार र कार्यकर्तालाई आग्रह गर्नुभयो । जिल्ला सभापति न्यौपानेले पालुङटार मात्रै नभइ जिल्लाका ११ वटै पालिकामा कांग्रेसले एकल प्रतिस्पर्धा गर्ने बताउनुभयो । जिल्ला कार्यसमितिको यो निर्णयबारे प्रदेश र केन्द्रीय समितिलाई पनि जानकारी गराइएको उहाँको भनाइ छ । 

कांग्रेसका मेयर पदका उम्मेदवार दीपकबाबु कँडेलले सभापति देउवाले जानाजान ढिलो गरी आफ्नो उम्मेदवारी फिर्ताको पत्र पठाएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया