मतदानको अभ्यास गर्न नमुना मतदान (तस्बिरहरू)

 बैशाख २२, २०७९ बिहिबार १८:४३:२२ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – यही वैशाख ३० गते हुने पालिका चुनावलाई लक्षित गरी म्याग्दीमा आज (बिहीवार) नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय म्याग्दी र नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा म्याग्दीको संयुक्त आयोजनामा नमुना मतदान गरिएको हो । 

कुल एक सय आठ मत खसेकोमा सदर मत ८६, आंशिक बदर मत १९, पूर्ण बदर मत १ र कुनै पनि चिह्नमा मतदान नगरेको (खाली मतपत्र) दुई मत रहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीका प्रमुख भीमप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँले सकभर कमभन्दा कम मत बदर होस् भनेर नमुना मतदानको अभ्यास गरिएकोमा धेरै मत बदर हुनु मतदाताको लापर्बाही तथा मतदाता शिक्षाको अभाव देखिएको बताउनुभयो । 

म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी सामुदायिक माविको मतदान केन्द्रमा गरिएको नमुना मतदानमा विद्यार्थी, पत्रकार, निजी क्षेत्रका प्रतिनिधि तथा सरोकारवाला र स्थानीयवासीले सहभागिता जनाएका थिए । म्याग्दीका जिल्ला न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले पहिलो मत खसालेर नमुना मतदानको सुरु गर्नुभएको थियो । 

नमुना मतदानमा मतदानको दिनमा हुने सबैखाले गतिविधि सम्पन्न गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता नामावली रुजु गर्नेदेखि लिएर मत खसालेर बाहिर निस्किनेसम्मको व्यवस्था वास्तविक मतदानको समयमा जस्तै गरी मिलाइएको थियो । 

नागरिकलाई मतदान गर्ने तरिका सिकाउन र बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान गरिएको जिल्ला निर्वाचन अधिकारी घिमिरेको भनाइ छ । 

एक नगरपालिका र पाँच वटा गाउँपालिका रहेको हिमाली जिल्ला म्याग्दीमा पालिका चुनावका लागि ८५ हजार तीन सय ७५ जना मतदाता कायम भएका छन् । ७४ वटा मतदानस्थल रहेको म्याग्दीमा एक सय १४ वटा मतदान केन्द्र तोकिएको छ । पालिका चुनावका लागि म्याग्दीमा ६ सय १९ जना म्यादी प्रहरी छनोट गरी आवश्यक तालिम र अभ्यास पनि भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया