प्रधानमन्त्री ओली शनिबार अमेरिका जाने, १३ गते कोस्टारिकाको औपचारिक भ्रमणमा

 असोज ४, २०७५ बिहिबार २०:२५:४५ | रासस
unn.prixa.net

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ६ गते शनिबार न्यूयोर्कतर्फ प्रस्थान गर्नुहुने भएको छ । उहाँका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य पनि रहनुहुनेछ । 

असोज ९ गते मङ्गलबारबाट आरम्भ हुने यस अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने ९संस्था० बनाउने’ रहेको परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति मार्फत जानकारी दिएको छ । 

प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्नुहुनेछ । उहाँले त्यही दिन विश्व संस्थाका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुनेछ । 

प्रधानमन्त्री ओलीले असोज ८ गते सोमबार ‘नेल्सन मन्डेला शान्ति शिखर बैठक’ को रूपमा उच्चस्तरीय पूर्ण बैठकलाई सम्बोधन गर्नुहुनेछ । त्यो बैठक दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाको सम्मानमा उहाँको १००औं जन्मदिवसका अवसरमा आयोजना हुनेछ । 

प्रधानमन्त्री ओली तथा श्रीमती शाक्य त्यही साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती ट्रम्पले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनुहुनेछ । उहाँ असोज ९ गते मङ्गलबार संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसले आयोजना गर्नुहुने दिवाभोजमा सहभागी हुनुहुनेछ । 

प्रधामन्त्री ओलीले सोही दिन महासचिव गुटेरेसले आयोजना गर्नुहुने ‘शान्तिका लागि कार्य गर्न उच्चस्तरीय बैठक’ लाई सम्बोधन गर्नुहुनेछ । उहाँले सोही दिन एसिया सोसाइटीमा ‘‘शान्ति, प्रजातन्त्र तथा विकास’’का विषयमा सार्वजनिक व्याख्यान दिनुहुनेछ । अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुडले उक्त कार्यक्रमलाई निर्देशन गर्नुहुनेछ । 

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको महासभाका कार्यक्रमका साथसाथै असोज १० गते बुधबार स्विजरल्यान्डका राष्ट्रपति एलेन बर्सेटसँग दुईपक्षीय भेटवार्ता गर्नुहुनेछ । उहाँले असोज १२ गते शुक्रबार क्याम्बोडियाका प्रधानमन्त्री सामदेक अर्थात् मोहा सेना पदेई तेको हुन सेनसँग दुई पक्षीय भेटवार्ता गर्नुहुनेछ । 

प्रधानमन्त्री ओली असोज १३ गते शनिबार दुईपक्षीय औपचारिक भ्रमणका क्रममा न्यूयोर्कबाट कोस्टारिकाको सान होजेतर्फ प्रस्थान गर्नुहुनेछ । प्रधामन्त्री ओलीले सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ता गर्नुहुनेछ । उहाँले सान होजेमै शान्ति विश्वविद्यालय ९युनिभर्सिटी फर पिस० लाई सम्बोधन गर्नुहुनेछ । 

प्रधानमन्त्री असोज १७ गते बुधबार काठमाडौँका लागि प्रस्थान गर्नुहुनेछ । प्रतिनिधि मण्डल उहाँको साथ रहनेछ । 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अन्य बैठकका साथै छुट्टै रुपमा असंलग्न अभियानका मुलुकको समूह, ७७ मुलुकका समूह, अल्प विकसित मुलुकका समूह तथा भूपरिवेष्टित विकासशील मुलुकका समूह तथा मध्यस्थताका मित्रका समूहका मन्त्रीस्तरीय बैठकहरुमा भाग लिनुहुनेछ ।

परराष्ट्रमन्त्री ज्ञवालीले असोज ११ गते बिहीबार दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० को मन्त्रीस्तरीय अनौपचारिक बैठक आयोजना गर्नुहुनेछ । प्रधानमन्त्री ओलीका भ्रमणदलमा उहाँका साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहनुहुनेछ । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया