लमजुङमा असार १५ को रमाइलो (तस्बिरहरू)

 असार १५, २०७९ बुधबार १९:५०:११ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – आज असार १५ । ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ यस वर्ष देशभर असार १५ मनाइएको छ । 

लमजुङमा पनि विभिन्न सङ्घ–संस्थाले धान रोपाइँ कार्यक्रम गरी असार १५ मनाएका छन् । कृषि ज्ञान केन्द्र, विभिन्न पालिकाका साथै कृषक समूहहरूले आ–आफ्नो क्षेत्रमा धान रोपाइँ गरी असार १५ मनाएका हुन् । 
ज्ञान केन्द्र र स्थानीय करपुरेश्वर महिला कृषक समूहको समन्वयमा बेसीसहर नगरपालिका ८ मा रहेको दनाइँफाँटमा धान रोपाइँ गरिएको छ । जिल्लाका प्रायः सबै पालिकामा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत विजयराज पौडेलले जानकारी दिनुभयो ।

हिले दौड प्रतियोगिता

यसैगरी सुन्दरबजार नगरपालिका कृषि शाखाको आयोजनामा वडा नम्बर ६ मा रहेको नगरपालिका कार्यालय परिसरको सातफाँटमा धान रोपाइँ गरिएको छ । त्यही अवसरमा महिला पुरुष दुवैतर्फ छुट्टाछुटुटै हिले दौड प्रतियोगिता समेत सञ्चालन भएको छ । 

१३ जना पुरुष र आठ जना महिलाबीच भएको हिले दौडमा महिलातर्फ लक्ष्मी दसुनी पहिलो, सीतादेवी पण्डित दोस्रो, सविना बस्याल तेस्रो र रामदेवी सेढाइँ सान्त्वना हुनुभएको छ । पुरुषतर्फ राजेश गोतामे पहिलो, देवी पण्डित दोस्रो, विनोद श्रेष्ठ तेस्रो र दिवाकर पौडेल सान्त्वना हुनुभएको कृषि शाखा सुन्दरबजार नगरपालिकाका प्रमुख सुरेश अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई पुरस्कारस्वरूप क्रमशः नगद एक हजार पाँच सय, एक हजार, सात सय र पाँच सय रुपैयाँ प्रदान गरिएको छ । 

लमजुङमा ३५ प्रतिशत रोपाइँ

कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत पौडेलका अनुसार लमजुङमा खेतीयोग्य जमिनमध्ये १२ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । यहाँ ४५ हजार ५० हेक्टर खेतीयोग्य जमिन छ । अहिलेसम्म जिल्लामा ३५ प्रतिशत धान रोपाइँ सकिएको उहाँले बताउनुभयो । 

केन्द्रका अनुसार लमजुङका किसानले सावित्री, जेठोबुढो, रामधान, सुनौलो सुगन्ध, लोकतन्त्र, एक्लेजस्ता उन्नत जातका धानलगायत मकवानपुर, गोरखनाथ, लोकनाथ, मनसुली, युएस ३१२, उपज, वर्षे तीन हजार चारलगायत हाइब्रिड जातको धान लगाउँदै आएका छन् ।

यसैगरी कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा–२ र सुक्खा–३ जातका धान लगाउने गरेका छन् । गएको वर्ष १४ हजार दुई सय ६० हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीबाट ४५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया