लमजुङ : आयाेजना र ढुङ्गे धाराकाे पानीमा 'इकोली' भेटियाे, पानी शुद्धीकरण गरी पिउन आग्रह

 असार १७, २०७९ शुक्रबार २०:३३:१५ | श्यामशितल परियार
unn.prixa.net

तस्बिर : स्वास्थ्य कार्यालय लमजुङ ।

लमजुङ – लमजुङका विभिन्न आयाेजना र केही ढुङ्गे धाराकाे खानेपानीमा इकोली भेटिएको छ । स्वास्थ्य कार्यालय लमजुङले विभिन्न समयमा गरेकाे खानेपानी नमुना परीक्षणका क्रममा इकोली भेटिएको कार्यालय प्रमुख अमर दवाडीले जानकारी दिनुभयो ।

जिल्लाका आठ पालिकामध्ये सात पालिकामा गरी एक सय २० वटाको नमुना परीक्षण गर्दा ९१ वटामा इकोली भेटिएको उहाँले बताउनुभयो । ‘पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई इकोली भनिन्छ । परीक्षण गरिएकामध्ये ७६ प्रतिशत नमुनामा इकोली पाइयो’, उहाँले भन्नुभयो । 

स्वास्थ्य कार्यालयका प्रमुख दवाडीका अनुसार मध्यनेपाल नगरपालिकामा खानेपानीको २२ नमुनामा परीक्षण गर्दा २० वटामा इकोली भेटिएको हो । सुन्दरबजार नगरपालिकामा ३९ नमुना परीक्षण गर्दा २७ वटामा इकोली भेटिएको छ । राइनास नगरपालिकामा आठ नमुना परीक्षण गर्दा ६ वटामा, बेसीशहर नगरपालिकामा २९ नमुना परीक्षण गर्दा २२ वटामा इकोली भेटिएको छ ।

यस्तै दोर्दी गाउँपालिकामा पाँच नमुना परीक्षण गर्दा चार वटामा, मस्र्याङ्दी गाउँपालिकामा परीक्षण गरिएको दुई वटै नमुनामा इकोली भेटिएको छ । क्वहोंलासोँथर गाउँपालिकामा १४ नमुना परीक्षण गर्दा १० वटामा इकोली भेटिएको छ । 

स्वास्थ्य कार्यालयले बर्खा लाग्नुभन्दा अगाडि, बर्खाको सुरुवातमै विभिन्न खानेपानी आयोजनाको सम्वन्धित उपभोक्ता समितको समन्वयमा खानेपानी नमुना सङ्कलन गर्ने, नमुना परीक्षण गर्ने र प्राप्त परिणामका आधारमा पानीको गुणस्तरका लागि पृष्ठपोषण पनि दिने गरेको उहाँले बताउनुभयो । 

बर्खाको समयमा किटजन्य तथा पानीजन्य सङ्क्रमणको जोखिम रहने भएकाले स्वास्थ्य सावधानी अपनाउन उहाँको आग्रह छ । पानीजन्य सङ्क्रमणबाट जोगिन पानी शुद्धीकरण गरी पिउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामार्फत क्लोरिन वितरण भइरहेको र मात्रा मिलाएर खानेपानी ट्याङ्कीमा ‘क्लोरिनेशन’ गर्न उहाँले आग्रह गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया