प्रदेशको राजधानी र नाम छिट्टै तोकिन्छ : मुख्यमन्त्री राई

 असोज ११, २०७५ बिहिबार १६:९:२२ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सहमतिको आधारमा चाँडै प्रदेशको स्थायी राजधानी र नामाकरण तोकिने बताउनुभएको छ ।

स्वास्थ्य निर्देशनालय र शिक्षा विकास निर्देशनालयको धनकुटामा उद्घाटन गर्न आएका मुख्यमन्त्री राईले पत्रकारहरुसँग कुराकानी गर्दै प्रदेश सरकार नेकपाको दुई तिहाई बहुमतको भए पनि सबैको सहमतिमा मात्र प्रदेशको नामाकरण र स्थायी राजधानी तोकिने बताउनुभयो । 

नेकपाको सरकार दुई तिहाईको दम्भमा अगाडि नबढ्ने स्पष्ट पार्दै मुख्यमन्त्री राईले सबैको सल्लाह, सुझाव र भावनालाई समेटेर प्रदेश सरकारले प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने बताउनुभयो । मुलुक संघीय संरचनामा गएसँगै प्रदेश सरकारले शून्यबाट काम थाल्नु परेकाले केही–केही कामहरु गर्न ढिलाई भएको स्पष्ट पार्दै मुख्यमन्त्री राईले अब प्रदेश सरकारको काम तीव्र गतिमा अगाडि बढ्ने बताउनुभयो ।

अबको पन्ध्र दिन भित्रमा प्रदेश अन्तरगतका सबै भौतिक संरचनाहरु स्थापना गरी प्रदेशको स्थायी राजधानी र नामाकरणको विषयले प्राथमिकता पाउने बताउँदै मुख्यमन्त्री राईले चालु अधिवेशनबाट नै चाँडै टुंग्याउने पनि स्पष्ट पार्नुभयो । प्रदेशको नाम र स्थायी राजधानी कहाँ हुने भन्ने विषयमा व्यापक रुपमा छलफल भइरहेको भएपनि आफू प्रदेशको मुख्यमन्त्री भएको हिसाबले आफूलाई लागेको कुरा तत्कालै सार्वजनिक गर्न नमिल्ने राईले बताउनुभयो ।

प्रदेश सरकार संघीयताको मर्म र भावना अनुरुप अगाडि बढिरहेको बताउँदै मुख्यमन्त्री राईले राजधानी कहाँ हुन्छ भन्नु भन्दा पनि सिंहदरबारको अधिकार घर–घरमा आयो आएन भन्ने विषय महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
    
प्रदेश नं. १ अन्तरगत रहेका १४ जिल्लामा बसोबास गर्ने जनताको भावना र मर्म अनुसार प्रदेशको नामाकरण गरिने बताउँदै मुख्यमन्त्री राईले अहिले किराँत, कोशी, सगरमाथा, लिम्बूवान लगायतका नामहरु चर्चामा आएको र ती नामलाई मध्यनजर गर्दै छलफल अगाडी बढाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रदेशको नाम र स्थायी राजधानीको विषयमा विवाद गर्न हुदैन । यदि हामी त्यही विषयलाई लिएर विवाद गर्ने हो भने संघीयतामाथि खतरा हुन सक्दछ ।’ 
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया