प्रदीप राेदनकाे गजलकृति ‘मफलर’काे विमाेचन

 असोज ८, २०७९ शनिबार १७:५३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गजलकार प्रदीप रोदनको पहिलो गजलकृति ‘मफलर’ लोकार्पण गरिएको छ । काठमाण्डौको प्रज्ञा–प्रतिष्ठान डबलीमा शनिबार आयोजित एक कार्यक्रममा साहित्यकार अमर न्यौपाने र लेखक रोदनले पुस्तक सार्वजनिक गरेका हुन् । 

कार्यक्रममा साहित्यकार न्यौपानेले रोदनको यो कृति गजलको रदिफ र काफिया मिलाइएको गजलसङ्ग्रह मात्र नभएर, मन्त्रहरूको सङ्ग्रह रहेको बताउनुभयाे । ‘जीवनलाई मथेर निकालिएको नौनी हो मफलर,’ उहाँले भन्नुभयाे, ‘खारिएका पवित्र वाक्य यस सङ्ग्रहमा छन् । धेरै पुस्तक बोरामा थन्काउनुपर्ने हुन्छ । केही पुस्तक बुककेसमा सजाएर राखिन्छ । केही पुस्तक आफूले पढ्ने टेबलमा राखिन्छ । केही किताब यस्ता पनि हुन्छन्, जो सिरानीमुनि राखिन्छ । यो त्यसैगरी सिरानीमुनि राख्ने कृति हो ।’ 

‘मफलरमा जीवन र हृदयको यस्तो ध्वनि छ, जहाँ अध्यात्म, व्यवहार र दर्शन मिसिएको छ,’ साहित्यकार न्यौपानेले थप्नुभयाे । यस्तै कार्यक्रममा लेखक रोदनले गजल लेख्दा आफूले कैयौं पटक आफ्नै हृदय छामेको र सेरहरूको धड्कन महसुस गरेको बताउनुभयाे ।

‘केही नबन्दा अरु केही बन्दो रहेछ । यसरी सेरहरूको माया क्षेत्र हृदयको गहिराइसम्म पुग्यो र गजल बने । जहाँ गजल बनेनन्, त्यहाँ फर्दहरू बने,’ उहाँले भन्नुभयाे, ‘थाहा छैन, यी गजलले तपाईंको जीवनमा सौन्दर्य थप्छन् या थप्दैनन् । यी गजल मैले सृष्टि गरेका बचेराहरू हुन् । आजसम्म आफ्नै पखेटामुनिको न्यानोमा हुर्काएँ । अब यी गजलका आफ्नै पखेटा पलाए होलान् भनेर तपाईंहरूकै संसारमा उडान भर्न पठाएको छु ।’

यी सम्पूर्ण गजल आफूले गोरखाको पाण्डेबेसीको माटोमा बसेर लेखेको पनि उहाँले बताउनुभयाे । गजलकार राेदनकाे जन्मथलाे हाे गोरखाकाे पालुङटारमा पर्ने पाण्डेबेसी । उहाँ आफ्नै गाउँको सरकारी विद्यालयमा शिक्षक हुनुहुन्छ । देशविदेशका विभिन्न कार्यक्रम र सामाजिक सञ्जालमा आफ्ना गजल प्रस्तुत गरेर धेरैको मन जितेका रोदनको पहिलो गजलकृति हो, ‘मफलर’ ।

उहाँले वि.स. २०७३ सालमा ‘लोकप्रिय गजलकार अवार्ड’, २०७५ सालमा ‘उत्कृष्ट युवा प्रतिभा पुरस्कार’ र २०७९ सालमा ‘साताको साहित्य पुरस्कार’ पाइसक्नुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया