महेन्द्रबहादुर शाही : मिलिसियादेखि प्रतिनिधि सभासम्म

 मंसिर १०, २०७९ शनिबार १३:२४:११ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – महेन्द्रबहादुर शाहीकाे जन्म कर्णाली प्रदेशकाे कालीकोट जिल्ला पचालझरना गाउँपालिका (साविकको नानीकोट गाविस वडा नम्बर ८) मा २०३३ माघ १५ गते जन्मिनुभएकाे हाे । उहाँकाे बुबा लालबहादुर शाही र आमा रणकौडा शाही हुनुहुन्छ । उहाँ दोस्रो सन्तान हुनुहुन्छ ।

२०४८ सालमा नेपाल कम्युनिस्ट पार्टी एकता केन्द्रको सदस्यता लिनुभएका शाही पार्टी सदस्यतापछि अर्धभूमिगतरूपमा गोप्य सैन्य तालिममा सहभागी हुँदै युद्धको तयारीमा जुट्न थाल्नुभयाे । २०५२ सालदेखि तत्कालीन माओवादीले जनयुद्ध सुरु गर्दा उहाँ त्यसमा लाग्नुभयाे । शाहीले पार्टीको सङ्गठन र छापामारमा समानान्तर भूमिका निर्वाह गर्नुभयाे ।

कर्णाली अञ्चलमा पहिलो पटक छापामारको स्थापना भयो । शाहीले सैन्य इन्चार्ज भएर जनमुक्ति सेनाको नेतृत्व गर्नुभयाे । पश्चिम नेपालमा बुटवलदेखि दार्चुलासम्म भएका फौजी कारबाहीमा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयाे । शाहीले सेनाको हरेक 'फर्मेशन' मा कमान्डरकाे भूमिका निर्वाह गर्नुभयाे । सुरुमा वार्ड कमान्डर, स्क्वाड कमान्डर, प्लाटुन कमान्डर, कम्पनी कमान्डर, बटालियन कमान्डर, बिग्रेड कमान्डर हुँदै डिभिजन कमान्डरसम्मको नेतृत्व शाहीले गर्नुभयाे ।

शाहीले सेना समायोजनको बेला राजनीतिक मोर्चालाई राेज्नुभयाे । सेना समायोजनपछि उहाँ राजनीतिक मूलधारमा आउनुभयाे । एकमात्र निर्वाचन क्षेत्र रहेको कालीकोटमा शाहीले सङ्गठनलाई बलियाे बनाउँदै लैजानु भयाे । जिल्लामा सङ्गठन बलियाे बनाएकै कारण उहाँले २०७० देखि लगातार चुनाव जित्दै आउनुभएकाे छ ।

माओवादी जनयुद्ध कालमा मिलिसियादेखि जनमुक्ति सेनाको डिभिजन कमान्डरसम्मको भूमिका निर्वाह गर्नुभएका शाहीले संविधान सभा सदस्य हुँदा तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने नेतामध्येका एक हुनुहुन्छ ।

संविधान सभा सदस्य हुँदै ऊर्जा मन्त्री बन्नुभएका शाही २०७४ सालको चुनावमा कालीकोटबाट प्रदेश सभाको चुनाव जितेर कर्णाली प्रदेशको संस्थापक मुख्यमन्त्री बन्नुभयाे । 

यस पटकको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री शाहीले एमालेका केन्द्रीय सदस्य नगीन्द्र शाहीलाई ७ हजार ९ मतले पछि पार्दै तेस्राे पटक निर्वाचित हुनुभएकाे हाे ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया