निर्माणाधीन चेपे ए जलविद्युत् आयोजनामा तोडफोड र आगजनी

 मंसिर २४, २०७९ शनिबार १८:५०:४० | किरण लोहनी
unn.prixa.net

गोरखा – गोरखा र लमजुङको सीमा चेपे खोलामा निर्माण भैरहेको चेपे ए जलविद्युत् आयोजनामा तोडफोड र आगजनी भएको छ । 

७ मेगावाट क्षमताको निर्माणाधीन आयोजनाको गोरखाको सिरानचोक गाऊँपालिका २ कुभिण्डेबेसीमा रहेको कार्यालयमा शनिवार दिउँसो तोडफोड गरिनुका साथै त्यहाँका गाडीहरुमा आगजनी गरिएको हो । 

लमजुङको राइनासटार सिँचाइ आयोजनाको मुहान प्रभावित हुने गरी आयोजनाको पावर हाउस बनाउन थालिएको भन्दै त्यस क्षेत्रका बासिन्दाले काम रोक्न आग्रह गर्दै आएका थिए । राइनास नगरपालिकाका उपप्रमुख पुष्पराज खनाल नेतृत्वमा आएको स्थानीय बासिन्दाको टोलीले तोडफोड र आगजनी गरेको आयोजना पक्षको भनाइ छ ।

आक्रोशित राइनासटारवासीले आयोजानको दुई वटा मिनीट्रक, एउटा एक्साभेटर तथा कर्मचारीको अस्थायी आवासगृहमा आगो लगाइदिएका हुन् । कार्यालयभित्रका फर्निचरमा पनि तोडफोड गरिएको आयोजनाको निर्माण कम्पनी चम्पावती हाइड्रोपावर कम्पनी प्रालिका अध्यक्ष डाक्टर हरिराम पराजुलीले बताउनुभयो । 

घटनास्थलमा इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट टोली पुगेर क्षतिको यकिन विवरण संकलनको काम गरिरहेको छ । पराजुलीले भने झण्डै ५ करोड रुपैयाँ बराबरको क्षति भएको बताउनुभयो । चेपेखोलाबाट २०४९ सालदेखि सञ्चालन हुँदै आएको सिँचाइ आयोजनाको इन्टेकनै मासिने गरि आयोजना निर्माण गरिएको स्थानीय बासिन्दाको भनाइ छ ।

‘पहिलेदेखि नै सिँचाइ आयोजनालाई प्रभाव नपार्ने गरी विद्युत् आयोजना निर्माण गर्न स्थानीय बासिन्दाले राख्दै आएको मागको बेवास्ता गरियो’ स्थानीय बासिन्दा श्रीकृष्ण पौडेलले भन्नुभयो, ‘सिँचाइ आयोजनाको मुहानभन्दा १ शय मिटर माथि नै पावर हाउसको पानी खस्दा आयोजना सञ्चालन हुन नसक्ने र राइनासटारका सयौं हेक्टर जमिनमा सिँचाइ सुविधा बन्द हुने भएकाले अब जलविद्युत् आयोजना सधैँका लागि बन्द गराउनका लागि हामी चरणबद्ध आन्दोलन गर्छौं ।’ 

तर आयोजनाका अध्यक्ष हरिराम पराजुलीले भने पावर हाउसबाट निकास हुने पानीले सिँचाइ आयोजनाको इन्टेकमा प्रभाव नपार्ने बताउनुभयो । ७ मेगावाट क्षमताको आयोजनाको अहिलेसम्म ६० प्रतिशत निर्माण कार्य पूरा भएको छ । आयोजनाको लागत एक अर्ब ३२ करोड रुपैयाँ अनुमान गरिएको छ । ३० प्रतिशत स्वपुँजी रहेको छ भने ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिइएको पराजुलीले बताउनुभयो । 

‘आयोजनाको हेड वक्र्स चेप कुँएले दोभानमा रहेको छ, त्यहाँबाट ३६ शय मिटर लामो पाइपलाइन मार्फत पावर हाउससम्म पानी ल्याइनेछ’ उहाँले भन्नुभयो, ‘पावर हाउस सिरानचोक गाऊँपालिका २ को कुभिण्डेबेसीमा निर्माण भैरहेको छ, पावर हाउसको पानी राइनास सिंचाई आयोजनाको नहरको इन्टेकभन्दा माथि चिल्लीखोला दोभानमै खसालिने भएकाले उहाँहरुले भने जस्तो सिंचाइको इन्टेकलाई प्रत्यक्ष प्रभाव पर्दैन, यसबारे हामी पनि गम्भीर छौँ ।’ 

जलविद्युत् आयोजनाका संरचनाहरु भने लमजुङको दुधपोखरी र गोरखाको सिरानचोक गाउँपालिकामा बनिरहेको छ । प्रतिमेगावाट करिव १८ करोड ५० लाख रुपैयाँ पर्न जाने उक्त आयोजनाको हालसम्म करिब ७० प्रतिशत काम पूरा भएको थियो । यो घटनाले आयोजना निर्माणको काम अन्यौलमा परेको निर्माण कम्पनीले जनाएको छ । 

आयोजना आगामी चैत मसान्तसम्ममा सम्पन्न गर्ने र अर्को वर्षको शुरुबाट परीक्षण उत्पादन गर्ने लक्ष्य रहेकोमा थप काम अघि बढाउन अन्यौल भएको निर्माण कम्पनी चम्पावती हाईड्रोपावर कम्पनीका अध्यक्ष डा.हरिराम पराजुलीले बताउनुभयो । यस आयोजनाबाट उत्पादन हुने विद्युत करिब ४ किलोमिटर टाढा सिरानचोक गाऊँपालिका ३ को पराजुली गाऊँमा सवस्टेशन निर्माण गरि ३३ केभी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने गरि संरचना निर्माणको तयारी भैरहेको थियो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया