गाेरखा : शहीद लखनमा धार्मिक कार्यका लागि जाँडरक्सी उत्पादन गर्दा वडाबाट अनुमति लिनुपर्ने

 पुस ८, २०७९ शुक्रबार ९:३३:१५ | किरण लोहनी
unn.prixa.net

गोरखा - गोरखाको शहीद लखन गाउँपालिकाभित्र धार्मिक, सांस्कृतिक कार्यका लागि जाँडरक्सी उत्पादन गर्दा वडाबाट अनुमति लिनुपर्ने भएको छ । पालिकाभित्र जाँडरक्सी नियन्त्रण, व्यवस्थापन तथा नियमन सम्बन्धी प्रावधानलाई थप व्यवस्थित गर्दै पालिकाले वडास्तरीय जाँडरक्सी व्यवस्थापन समितिबाट अनुमति लिएर तोकिएको प्रयोजनका लागि मात्रै जाँडरक्सी उत्पादन गर्न पाउने व्यवस्था गरेको हो ।

पालिकाले २०७७ सालमा जारी गरेको जाँडरक्सी ऐनले घरेलु जाँडरक्सी उत्पादनमा रोक लगाएको थियो । हिजाे बिहीवार भएको १२औँ गाउँसभाले जाँडरक्सी नियन्त्रण, व्यवस्थापन तथा नियमन ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयक पारित गर्दै अनुमति लिएर धार्मिक, सांस्कृतिक लगायतका कार्यका लागि जाँडरक्सी उत्पादन गर्न सकिने व्यवस्था गरेको हो । संशोधित ऐनमा वडाध्यक्षको अध्यक्षता रहने जाँडरक्सी व्यवस्थापन समितिको पनि व्यवस्था गरिएको छ । 

समितिमा वडाका सबै सदस्य, वडा सचिव, प्रहरी चौकी भएको वडामा चौकीका प्रहरी प्रमुख, स्वास्थ्य संस्थाका प्रमुख, महिला समूह र बाल समूहका प्रमुख, एक महिला सहित २ जना समाजसेवी र वडास्तरीय निगरानी समूहका प्रतिनिधि सदस्यको रुपमा रहनेछन् । कसैले धार्मिक, सांस्कृतिक कार्यका लागि जाँडरक्सी उत्पादन गर्नुपर्ने भए सुरुमा वडास्तरीय समितिलाई जानकारी गराउनु पर्नेछ ।

समितिले जाँडरक्सी उत्पादनको उद्देश्य, उत्पादन गरिने ठाउँ, परिमाण लगायतका बारेमा पूर्व जानकारी लिएर त्यसको लेखाजोखा गरेर मात्रै उत्पादनको अनुमति दिने शहीद लखन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले बताउनुभयो । उत्पादित जाँडरक्सी तोकिएको उद्देश्य बाहेक अन्य प्रयोजनमा प्रयोग गरे/नगरेको बारे पनि वडास्तरीय जाँडरक्सी व्यवस्थापन समितिले अनुगमन गर्ने उहाँले जानकारी दिनुभयो । 

मदिरा ऐनले गाउँपालिका भित्रका अनुमतिपत्र प्राप्त व्यक्ति तथा व्यवसायीहरुले बाहेक अन्य व्यक्ति तथा व्यवसायीहरुले जाँडरक्सीको उत्पादन, बिक्री वितरण, ओसारपसार गर्न नपाउने गरी पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । यस्तै १८ वर्ष उमेर पूरा नगरेका व्यक्तिले जाँडरक्सी खरिद तथा बिक्री गर्न पाउँदैनन् भने जाँडरक्सी नियन्त्रण, व्यवस्थापन तथा नियमन गर्नका लागि प्रत्येक टोलमा टोल विकास समिति गठनको पनि व्यवस्था रहेको छ ।

पालिकाको ऐन विपरीत जाँडरक्सीको बेचविखन गर्ने व्यक्तिलाई पहिलो पटक दुई हजार रुपैयाँ जरिबाना गरिने छ भने त्यही व्यक्तिले कसुर दोहोर्याएमा पटकैपिच्छे एक हजार रुपैयाँका  दरले जरिबाना बढ्दै जाने छ । अनुमति बेगर जाँडरक्सी बिक्री वितरण गर्ने व्यक्ति वा व्यवसायीलाई पनि त्यही अनुसारको जरिबाना हुने व्यवस्था गरिएको छ । जाँडरक्सी खान गरी होहल्ला गर्ने, सार्वजनिक स्थलमा शान्ति भङ्ग गर्ने, गाली बेइज्जती गने व्यक्तिलाई पहिलो पटकका लागि तीन हजार रुपैयाँ जरिबाना गरिनेछ भने कसुर दोहोर्याएमा पटकै पिच्छे एक हजार रुपैयाँका दरले जरिबाना बढ्दै जानेछ । 

सार्वजनिक पद धारण गरेको व्यक्तिको हकमा भने दोब्बर जरिबानाको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष रमेश थापामगरले बताउनुभयो । ‘वडास्तरीय समितिले कारबाहीका लागि पालिकास्तरीय मूल समितिमा जानकारी गराउनेछ’ उहाँले भन्नुभयो, ‘मूल समितिको पत्र समेतको बेवास्ता गर्ने कसुरदारलाई गाउँपालिकाबाट प्रदान गरिने सेवा सुविधाबाट वञ्चित गरी नेपाल सरकारको प्रचलित कानुन बमाेजिम कारबाहीको लागि मुद्दा दायर गर्न सक्ने पनि ऐनमा व्यवस्था गरेका छौँ ।’ अध्यक्ष थापामगरका अनुसार पालिकाले जाँडरक्सी बिक्री र सेवनलाई नियन्त्रण भन्दा पनि व्यवस्थित गर्न खोजेको हो ।

‘पहिलो चरणमा त हामीले जाँडरक्सी खाँदा हुने आर्थिक, सामाजिक र स्वास्थ्यका घाटाबारे जानकारी गराइरहेका छौँ, त्यसपछि हामी क्रमैसँग ऐनलाई क्रियाशिल बनाउँदै लैजान्छौँ’ अध्यक्ष थापामगरले भन्नुभयो, ‘जरिबाना रकम पनि सम्बन्धित टोलकै सामाजिक काममा खर्च गर्छौँ ।’ कतिपय वडामा समिति गठन भएर काम सुरु भैसकेको बताउँदै उहाँले अन्य वडामा पनि क्रमैसँग ऐन कार्यान्वयन अघि बढाइने बताउनुभयो।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया