गोरखाका ४४ स्वास्थ्य संस्थालाई किशोर किशोरीमैत्री बनाइने

 पुस १६, २०७९ शनिबार ९:४३:१७ | किरण लोहनी
unn.prixa.net

फाइल तस्बिर

गोरखा - गोरखाका ४४ वटा स्वास्थ्यसंस्थाले किशोर किशोरीमैत्री स्वास्थ्य सेवा प्रवाह गर्ने भएका छन् । नेपाल सरकारको कार्यक्रम अन्तर्गत जिल्लाका ११ वटै पालिकाका ४/४ वटा स्वास्थ्य संस्थालाई सेवा प्रवाहको हिसाबले किशोर किशोरीमैत्री बनाइने भएको हो ।

कार्यक्रमको पूर्व तयारी अन्तर्गत सबै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरुलाई बिहीवार र शुक्रवार अभिमुखीकरण गरिएको छ । किशोर किशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरणका ९ वटा मापदण्ड र ४५ वटा आधारमध्ये कम्तीमा ८० प्रतिशत सूचक पूरा गरेको हुनुपर्ने स्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्काले जानकारी दिनुभयो ।

१० देखि १९ वर्षसम्मका किशोर किशोरीका लागि स्वास्थ्य परामर्श दिन अलग्गै कोठाको व्यवस्था भएको, परिवार नियोजनका साधनमा उनीहरूको सहज पहुँच भएको, किशोर किशोरीमैत्री स्वास्थ्य सेवा प्रदान गर्नका लागि तालिम प्राप्त स्वास्थ्यकर्मी भएको,गोपनीयताको आधारमा सेवा दिने कुराको सुनिश्चितता भएको स्वास्थ्य संस्थालाई किशोरकिशोरीमैत्री प्रमाणीकरण गरिने खड्काको भनाइ छ ।

किशोरावस्थामा यौन तथा प्रजनन स्वास्थ्य सेवा नपाएकै कारण किशोर किशोरीमा विभिन्न समस्या देखिने भएकाले किशोर किशोरीमैत्री स्वास्थ्य संस्थाको अवधारणा आएको उहाँले बताउनुभयो । यौन तथा प्रजनन स्वास्थ्यका विविध स्वास्थ्य सेवा दिने उद्देश्यसहित सरकारले किशोर किशोरीमैत्री स्वास्थ्य सेवाको अवधारणा ल्याएको हो । त्यही अवधारणा अनुसार उनीहरूलाई स्वास्थ्य सेवा प्राप्त गर्न सजिलो होस् भनेर किशोरी किशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरण गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

किशोर–किशोरीमैत्री सूचीकृत भएपछि सेवाको गुणस्तर र दिगोपनाको आधारमा स्वास्थ्य सेवा विभागले प्रमाणीकरण गर्ने स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । प्रमाणीकरण भएको ५ वर्षपछि पुनः मापदण्ड मूल्याङ्कन गरेर प्रमाणीकरण गर्नुपर्ने प्रावधान रहेको छ ।

प्रमाणीकरणका लागि किशोर–किशोरीहरुको आवश्यकता अनुसारका स्वास्थ्य सेवा प्रवाह भएको हुनुपर्ने, किशोर–किशोरीहरुका लागि प्रभावकारी सेवा प्रवाह भएको हुनुपर्ने, किशोर–किशोरीले सेवा लिने उपयुक्त वातावरण भएको हुनुपर्ने, किशोर–किशोरीका लागि यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञान दिन सक्षम भएको हुनुपर्ने व्यवस्था रहेको छ ।

गोरखाका पालिकाहरुका कुन कुन स्वास्थ्य संस्थालाई किशोरकिशोरी मैत्री बनाउने भन्ने तय गर्न बाँकी रहेको छ । दोस्रो चरणमा पालिकाका जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गरेर सम्भावित ४ वटा स्वास्थ्य संस्था छनाेट गरिने स्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्काले बताउनुभयो ।

त्यसपछि ती स्वास्थ्य संस्थाका कम्तीमा एक महिला र एक पुरुष स्वास्थ्यकर्मीलाई किशोर किशोरीमैत्री सेवा प्रवाहको तौरतरीका सिकाइने छ । सूचीकृत भएका स्वास्थ्य संस्थाको सेवा प्रवाहबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीले अनुगमन गरे पनि किशोर किशोरीमैत्री प्रमाणीकरण गरिनेछ।

पहिलो चरणमा सबै पालिकाका ४/४ वटा स्वास्थ्य संस्थालाई किशोरकिशोरीमैत्री बनाइने र क्रमैसँग अन्य स्वास्थ्य संस्था थप गर्दै जाने सरकारको लक्ष्य रहेको खड्काले बताउनुभयो । किशोर किशोरीमैत्री स्वास्थ्य संस्था कार्यक्रम कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै पालिकामा ससर्त अनुदानतर्फ बजेट पठाएको छ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया