७ वर्षमा  बन्यो बोझापोखरीमा विद्युत् सबस्टेशन

 पुस २०, २०७९ बुधबार ११:१०:१४ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बोझापोखरीमा सात वर्ष अघि निर्माण सुरु गरिएको विद्युत् सबस्टेशनको निर्माण कार्य बल्ल पूरा भएको छ ।

विसं २०७३ सालमा तीन वर्षभित्र निर्माणको काम सम्पन्न गर्ने गरि जिल्लाको पहाडी क्षेत्र बोझापोखरीमा विद्युत् सबस्टेशन निर्माणको काम सुरु गरिएको थियो । पहिलो सम्झौता अनुसार विसं २०७५ भित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर त्यस अवधिमा जम्मा ५ प्रतिशत काम मात्रै भएर झण्डै रुग्ण भएको सबस्टेशन निर्माण कार्य पटक पटक म्याद थप गर्दै पहिलो सम्झौता अवधिको करिब चारवर्षपछि निर्माण सम्पन्न भएको हो । 

नवलपुरको पहाडी क्षेत्र बौदीकाली, बुलिङटार सहित हुप्सेकोटको पहाडी क्षेत्रमा विद्युतीकरण गर्ने गरि आयोजना सुरु गरिएको थियो । ठेकेदारले काम नगर्दा लामो समयसम्म अलपत्र बनेको सबस्टेशन निर्माणको काम सकिएपछि अब जिल्लाको पहाडी क्षेत्रमा विद्युतीकरणको बाटो खुलेको छ ।

जिल्लाका कतिपय पहाडी क्षेत्र अझै पनि अन्धकारमा छन् । तनहुँतर्फबाट लाइन तानेर केही क्षेत्रमा विद्युतीकरण गरिएको छ । कतिपय स्थानमा लघु-जलविद्यु‍त‍्बाट विद्युतीकरण गरिएको भए पनि आवश्यक माग अनुसार आपूर्ति हुन सकेको छैन् । साथै लामो दुरीबाट लाइन ल्याएर विद्युतीकरण गर्दा बेलाबेलामा समस्या उत्पन्न हुने गरेको छ ।

अब बोझा पोखरीको सबस्टेशन निर्माणको काम सकिएकाले जिल्लाको पहाडी क्षेत्रमा विद्युतीकरणमा सहजता हुने नेपाल विद्युत् प्राधिकरण वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना बुटवल डिभिजनका सहायक प्रबन्धक विनोद पन्थीले बताउनुभयो ।

‘आयोजनाको काम सकिएको छ, अहिले सबस्टेशन चार्ज गर्ने काम चलिरहेको छ, चाडै यहाँबाट जिल्लाको पहाडी क्षेत्रमा बिजुली बाल्ने काम हुनेछ ’ सहायक प्रबन्धक पन्थीले भन्नुभयो । 

उहाँका अनुसार यही पुस १४ गतेदेखि नवलपुरको प्रगतिनगरबाट करेन्ट प्रवाह गरि लाइन चार्ज गर्ने र सबस्टेशन चार्ज गर्ने काम सुरु भएको छ । यस लगतै ११ हजार केभिको लाइन चार्ज गरि स्थानीय स्तरमा वितरणको काम सुरु हुनेछ । आयोजनामार्फत पोखरीबाट डेढगाउँ जाने बाटोको धौबादीसम्म र बुलिङटारको केही क्षेत्रसम्म ११ हजार केभिको लाइन समेत वितरण हुनेछ । त्यसका लागि पोल गाड्ने र तार लगाउने लगायत केही काम सकिएका छन् ।

बोझापोखरी क्षेत्रमा भने केही दिनमा दुईवटा  ट्रान्सफर्मर जडान गरी बत्ती बाल्ने तयारी गरिएको उहाँले बताउनुभयो । सबस्टेसन निर्माणको काम अलपत्र पर्दा लामो समय देखि अन्धकारमा बस्न बाध्य पहाडी क्षेत्रका बासिन्दा अब भने उज्यालोमा बस्न पाउने भएकाछन् ।

कोभिडको प्रवाह र विभिन्न कारणले आयोजना निर्माण हुन समय लागेको सहायक प्रबन्धक पन्थीले बताउनुभयो । भारतीय ए टु जेड ईन्फ्रा ईन्जिनियररिंग कम्पनी मार्फत सब कन्ट्याक्टर त्रिपुरेश्वर र जयदुर्गे इन्जिनियरिङ्गले करिब  १२ करोडको लागतमा  सबस्टेशन निर्माणको जिम्मा पाएको थियो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया