विमान दुर्घटनास्थलमा श्रद्धाञ्जलीसभा

 माघ १३, २०७९ शुक्रबार १४:२३:१३ | रासस
unn.prixa.net

काठमाण्डौ – गएको माघ १ मा पोखराको सेती खोँचमा यती एअरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा आज घटनास्थलमा पोखरा महानगरपालिकाले श्रद्धाञ्जलीसभासहित दीप प्रज्वलन गरेको छ ।

पोखरा महानगरपालिकाले घटनाको १३औँ दिन पारेर विमान दुर्घटनास्थल पोखरा–७ को मितेरीपुल नजिक बिहान ठीक १० बजेर ५८ मिनेट जाँदा श्रद्धाञ्जलीसभा गरेको हो । त्यस अवसरमा घटनामा ज्यान गुमाएका सबै यात्रुहरुको स्मृतिमा दीप प्रज्वलनसमेत गरियो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विमान दुर्घटनामा परेकाहरुको शोकले पोखरा, कास्की जिल्लासहित समग्र गण्डकी प्रदेश स्तब्ध भएको बताउनुभयो ।

दुर्घटनाका आला घाउहरु पूर्दै बाँचेकाहरुले नयाँ परिस्थितिको सामना गरेर अगाडि बढ्ने अठोट गर्नुपर्ने मुख्यमन्त्री अधिकारीको भनाइ छ ।

उहाँले दुर्घटनापछि जोखिम मोलेर उद्धार कार्यमा महत्वपूर्ण योगदान गर्ने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्काउट, रेडक्रस, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी राजनीतिक दललगायतप्रति गण्डकी प्रदेश सरकारकातर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले दुर्घटनाले पोखरालाई अपूरणीय क्षति पुगेको बताउनुभयो । 

माघे सङ्क्रान्तिको बिहान काठमाण्डौबाट पोखरा आउँदै गरेको यती एअरलाइन्सको एटिआर विमान बिहान १० बजेर ५८ मिनेट जाँदा पोखरा वडा नम्बर ७ र १५ को सिमाको सेती नदीको खोँचमा दुर्घटना भएको थियो । घटनामा विमानमा सवार ७२ जनामध्ये ७० जनाको निधन भइसकेको छ भने दुई जनाको खोजी कार्य जारी छ ।

दुर्घटनामा परेकामध्ये अझै केहीको सनाखतका लागि काठमाण्डौको त्रिभुवन शिक्षण अस्पतालमा डीएनए परीक्षण गरिएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया