घरमा छोरा र साउदीमा श्रीमान् बिरामी : बोर्डको सहयोगले उपचारमा केही राहत

 माघ १६, २०७९ सोमबार १८:२७:१६
unn.prixa.net

आप्रवासी स्राेत केन्द्रमा पुग्नुभएकी दानबहादुरकी श्रीमती

लीला निरौला/खोटाङ ।

खाेटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ का दानबहादुर खत्री साउदीको एक अस्पतालमा हुनुहुन्छ ।

यता नेपालमा उहाँका चार वर्षीय छोरालाई मुटुको समस्या छ । जन्मिदै मुटुको समस्या भएका छोराको उपचार खर्चमा लागेको ऋण तिर्नकै लागि उहाँ परदेश जानुभएको थियो । तर समय नै उल्टो भइदियो । अहिले आफै अस्पतालको बेडमा हुनुहुन्छ दानबहादुर ।

दानबहादुर २०७७ सालमा साउदी जानुभयो । त्यहाँको अलिफाद  कम्पनीमा कारपेन्टरको  काम गर्नुहुन्थ्यो । तर साउदी गएको दुई महिना नहुँदै उहाँ कार्यस्थल दुर्घटनामा पर्नुभयो । 

यता छोरालाई बेला बेला फलो-अपको लागि काठमाण्डौमा रहेको बालकान्ती अस्पतालमा लैजानुपर्छ । तर कमाउन परदेश जानुभएका दानबहादुर आफै दुर्घटनामा परेपछि छोराको खर्चमा पैसा पुगेन । स्वास्थ्यअवस्था बिग्रिँदै गयो । 

घरमा पनि समस्या बढ्दै गयो । दानबहादुरको परिवारमा बिरामी एक छोरासहित श्रीमती र दुई छोरी छन् । आम्दानीको अरु स्रोत छैन । 

छोराको उपचार र साउदी जाँदा लागेको खर्च सबै ऋण काढेरै जुटाउनुभएको थियो । १ लाख ६५  हजार रुपैयाँ त साउदी जानमै लाग्यो । तर साउदी गएर कमाउन नपाउँदै दानबहादुर अस्पतालको एउटा बेडमा थन्किनुपर्यो । नेपालमा बुनेर गएका सबै सपना चकनाचुर भए । कम्पनीले केही समय उपचार गरेर मात्रै नेपाल पठाउँछु भनेका कारण उहाँ साउदीकै अस्पतालमा उपचार गराइरहनुभएको छ । पहिलेका भन्दा अहिले थोरै सुधार भएको छ । 

‘पहिले त बिस्तराको बिस्तरामै हुनुहुन्थ्यो, अहिले अलि अलि हिँड्न थाल्नुभएको छ’, दानबहादुरकी श्रीमती नरकुमारी थोरै आशावादी सुनिनुहुन्छ । 

आफ्नो छोराको उपचारको लागि पनि नरकुमारी उहाँले धेरै दौडधुप गर्नुभयो । आर्थिक सहायता पाइन्छ कि भनेर विभिन्न निकायमा पुग्नुभयो । अन्ततः वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा गएकाहरुको परिवारका सदस्यको स्वास्थ्य खर्च बेहोर्छ भन्ने थाहा पाउनुभयो । तर कहाँबाट कसरी त्यो सहयोग लिने भनेर थाहा थिएन । वडाबाट सिफारिस लिएर उहाँ सहयोग पाउने आशामा आप्रवासी स्रोत केन्द्रमा पुग्नुभयो ।

श्रोत केन्द्रको सहजीकरणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले इमेल मार्फत आवश्यक कागजातहरु वैदेशिक रोजगार बोर्डमा पठाइदियो । नरकुमारी खत्रीको खाता मा २०७९ मसिर १९ गते वैदेशिक रोजगार बोर्डले  उपचार खर्च बापतको पैसा पठाइदिएपछि नरकुमारीलाई केही राहत भएको छ । 

उहाँ भन्नुहुन्छ, ‘बोर्डको आर्थिक सहयोगले गर्दा छोरालाई तत्काल फलो अपका लागि काठमाण्डौ लिन सकिने भयो ।’

छाेराकाे उपचारकाे लागि पैसा त जुट्याे । तर नरकुमारीलाई परदेशमा उपचार गराइरहेका श्रीमान्काे भने चिन्ता लागिरहन्छ । उपचार त कम्पनीले नै गरिदिएकाे छ । तर निकाे भएर घर कहिले फर्किने हुन् थाहा छैन ।

(लीला निरौला आप्रवासी स्रोत केन्द्र खोटाङमा परामर्शकर्ता हुनुहुन्छ ।)

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया