प्राकृतिक सुन्दरताले भरिपूर्ण म्याग्दीको पुनहिल (फोटोफिचर)

 माघ २८, २०७९ शनिबार १३:१६:३२ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – हिमाली जिल्ला म्याग्दीमा घुम्न लायक थुप्रै ठाउँ छन् । म्याग्दीमा अग्ला चुचुरा, टाकुरा, हरियाली डाँडापाखा, भञ्जाङ–चौतारी, तालतलैया, झरना, गुफा, देवालय, मठमन्दिरलगायत थुप्रै धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरु रहेका छन् । तिनै क्षेत्रहरुमा घुमफिर गरेर रमाउन, पर्यटकीय क्षेत्रहरुको भ्रमण तथा अवलोकन गर्नका लागि पर्यटकहरु म्याग्दी पुग्ने गर्दछन् । 

तीमध्ये उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारमा रहेकाे रहेको पर्यटकीय क्षेत्र घोरेपानी र पुनहिल पनि एक हो । यो क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गइरहेको छ । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य मानिने पुनहिल–घोरेपानी विश्वमा चर्चित राउण्ड अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्दछ । यो क्षेत्रमा पर्यटकहरुका लागि आवश्यक पर्ने सबैखाले सुविधाहरु उपलब्ध भएपछि पर्यटकको आकर्षण बढ्दै गएको हो । 

समुद्री सतहदेखि २ हजार ८ सय ७४ मिटरको उचाइमा घाेरेपानी अवस्थित छ भने घोरेपानीभन्दा माथि ३ हजार २ सय १० मिटरको उचाइमा पुनहिल पर्दछ । पुनहिलमा पुगेर रमाउन पाउँदा त्यहाँ पुग्ने जो कोहीले आनन्दको अनुभूति गर्छन् । पदमार्गको दायाँ र बायाँ ढकमक्कै फुल्ने लालीगुराँस, ढुङ्गाको सिँढी चिनेर बनाइएको पदमार्ग, घोरेपानी र पुनहिलबाट देखिने मनोरम हिमश्रृङ्खला, चराचुरुङ्गी तथा जङ्गली जनावरको आवाज एवं बिहान र बेलुकाको सूर्योदय तथा सूर्यास्तको दृश्यले मन रोमाञ्चित हुन्छ । 

अहिले शिशिर ऋतुको याम चलिरहेको हुँदा मौसम चिसो छ भने पुनहिलबाट प्रस्ट हिमाल देख्न सकिन्छ ।  पुस, माघमा पर्ने सेताम्य हिउँ अनि फागुनदेखि जेठसम्मै यहाँको वनङ्गलमा ढकमक्क फुल्ने लालीगुराँसले पर्यटकलाई खुब लोभ्याउँछ । हिउँ खेल्न र लालीगुराँससँगै फोटो खिचाउन पर्यटकहरु निकै लालायित हुन्छन् । मगर समुदायको बसोबास रहेको घोरेपानीमा उनीहरुको कला, संस्कृति र भेषभुषाको अध्ययन गर्न पाइनुका साथै लोकल खानाको स्वाद चाख्न पाइन्छ । 

पुनहिलबाट संसारको सातौँ अग्लो चुचुरो धौलागिरि, दशौँ अग्लो चुचुरो अन्नपूर्णसहित माछापुच्छ्रे, निलगिरी, मानपाथीलगायत दर्जनभन्दा बढी हिमाल, ग्रामीण सुन्दरता, हरियाली वनजङ्गलसहित लालीगुराँस, बिहानको सूर्योदय र बेलुकाको सूर्यास्त लगायतको दृश्यलाई आँखा नआउन्जेलसम्म हेर्न पाइन्छ । घोरेपानीमा पर्यटकलक्षित सानाठूला गरेर २२ वटा सुविधासम्पन्न होटलहरु खुलेका छन् । बेलुका घोरेपानी बास बसेर बिहान सबेरै उठेपछि उकालो यात्रा गरी पुनहिलमा पुगेर रमाउन सकिन्छ । 

पुनहिल–घोरेपानीको भ्रमण गर्न पाउँदा आफूलाई आनन्द लागेको इटहरीदेखि आउनुभएकी पूजा अग्रवालले बताउनु भयाे । अहिले घोरेपानी, पुनहिल, महरेडाँडा, नागीलगायत अन्नपूर्ण क्षेत्रमा पर्यटकको आगमन बढेको स्थानीयवासी बताउँछन् । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया