त्रिदेशीय क्रिकेट शृङ्खलामा स्कटल्यान्डले नेपाललाई दियो २ सय ७५ रनको लक्ष्य

 फागुन ५, २०७९ शुक्रबार १२:४३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा स्कटल्यान्डले नेपाललाई २ सय ७५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनायो ।

अलराउन्डर माइकल लिस्कले शतक बनाएपछि स्कटल्यान्डले नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिएको हो । लिस्कले ८५ बलमा १ सय ७ रन बनाए । एक दिवसीय अन्तर्राष्ट्रियमा उनको यो पहिलो शतक हो । आजको खेलमा डेब्यु गरेका ज्याक जार्किभले २६ रन बनाए । ब्राण्डन म्याकमुलान र क्रिटोफर म्याकमुलनले समान २२ रन बनाए ।

नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । त्यस्तै कुशल मल्लले २ तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १/१ विकेट लिए । नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ । आजको खेलमा नेपाली टोलीमा एक परिवर्तन भएको छ । ललितनारायण राजवंशीको ठाउँमा गुल्सन झाले खेलेका छन् ।

स्कटल्यान्डले टोलीमा तीन परिवर्तन गरेको छ । जर्ज मुन्से, काइल कोट्जर र तीव्र गतिका बलर शफ्यान शरिफ बेन्चमा छन् । यो शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले तथा स्कटल्यान्डले नामिबियालाई १० विकेटले हराएको थियो । स्कटल्यान्डसँग नेपालले एक दिवसीय अन्तर्राष्ट्रियमा चार खेल खेलेकोमा एउटा मात्र जितेको छ ।

सात वटा देश सहभागी लिगको शीर्ष पाँचमा पर्न सके नेपालको एकदिवसीय मान्यता जोगिने छ, यदि शीर्ष पाँचमा पर्न नसकेमा नेपालले क्वालिफायर खेल्नुपर्नेछ । यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् । शृङ्खलामा सहभागी तीन वटै टोलीले एक अर्कासँग समान २/२ खेल खेल्ने छन् ।

लिग २ को तालिकामा स्कटल्यान्ड ३३ खेलमा ४८ अङ्कका साथ शीर्ष स्थानमा छ । नामिबिया ३२ खेलमा ३७ अङ्कका साथ तेस्रो स्थानमा छ । नेपाल २५ खेलमा २० अङ्कसहित छैटौँ स्थानमा छ । शृङ्खलामा नेपालले भोलि नामिबियासँग र आउँदो मङ्गलवार स्कटल्यान्डसँग खेल्नेछ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया