सर्वसम्मतरूपमा राष्ट्रपति चयनको प्रयास भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

 फागुन १४, २०७९ आइतबार १३:५७:५ | किरण लोहनी
unn.prixa.net

गाेरखा – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भावी राष्ट्रपति सर्वसम्मतरूपमा चयन गर्ने प्रयास भइरहेको बताउनुभएको छ । १० वर्षे जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको २८ औँ स्मृति दिवसका अवसरमा बारपाक सुलिकोट गाउँपालिकाले आइतवार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले फागुन २५ गतेसम्ममा सहमतिमै राष्ट्रपति चयन हुने सम्भावना पनि रहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेकपा एमालेसँग पनि निरन्तर कुरा भइरहेको छ, राष्ट्रपति सर्वसम्मत बनाउने कोसिस फागुन २५ गतेसम्मै जारी राख्छौँ, त्यसो भएन भने पनि देश नयाँ ढङ्गले अघि बढ्छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएका सबैलाई राष्ट्रिय शहिद घोषणा गरिने बताउनुभएको छ । ‘आज बिहान मात्रै मुख्य सचिवलाई बोलाएर जनयुद्ध जनआन्दोलनका सबै शहिदहरुलाई राजपत्रमा सूचना प्रकाशन गर्न लगाएर राष्ट्रिय शहिद घोषणा गर्न निर्देशन दिएको छु’ उहाँले भन्नुभयो, ‘तेस्रो पटक प्रधानमन्त्री भएपछि ६४ सालमा मैलेनै तयार गर्न लगाएको त्यो पुरानो माइन्युट खोजेको छु, सबै शहिदहरुलाई राष्ट्रिय शहिदको रुपमा राजपत्रमा नाम प्रकाशित गर्ने प्रक्रिया अघि बढ्छ ।’

यस्तै सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग विधेयक संशोधन गरेर सदनमा प्रस्तुत गर्न लागिएको पनि प्रधानमन्त्रीले जानकारी दिनुभयो । ‘प्रधानमन्त्रीको रूपमा यो तेस्रो कार्यकालमा जनयुद्ध र जनआन्दोलनका घाइते तथा बेपत्ता परिवारलाई धेरै हदसम्म मलमपट्टी लगाइने छ र त्यो व्यक्तिगतरूपमा मेरा लागि पनि खुसी र हर्षको कुरा हुनेछ’, उहाँले भन्नुभयो, ‘घाइते, अपाङ्गको निम्ति पनि नयाँ विधेयकमा व्यवस्था छ । माओवादी, अन्य राजनीतिक दल, सेना, प्रहरीलगायत युद्ध र आन्दोलनमा क्षति भोगेकाहरूलाई क्षतिपूर्तिसहितको परिपूरणको व्यवस्था गर्ने, उनीहरूको सम्मानमा ठाउँठाउँमा पार्क बनाउने, उनीहरूको परिवारलाई रोजगारी दिने, छोराछोरीलाई शिक्षा–दीक्षा दिने काम मेरै नेतृत्वमा हुँदैछ ।’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलका बुबा सेते रम्तेल र आमा सरीमाया रम्तेलसहित बारपाकभित्रका शहीद तथा बेपत्ता परिवारलाई सम्मान गर्नुभएको थियो । 

कार्यक्रममा बोल्दै सांसद एवम् माओवादी केन्द्रका सचिव हितराज पाण्डेले शहीद परिवारको बलिदानलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्दै कुरा थोरै गरेर नागरिककाे सेवामा बढी काम गर्न उहाँले आग्रह गर्नुभयो ।  

तत्कालीन नेकपा (माओवादी) द्वारा सञ्चालित १० वर्षे जनयुद्धका क्रममा सबैभन्दा पहिले मारिएका दिलबहादुर रम्तेलको २८ औँ स्मृति तथा बलिदान दिवसको सन्दर्भमा बारपाक गाउँपालिकाले कार्यक्रम आयोजना गरेको हो । तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेदेखि सुरु गरेकाे सशस्त्र द्वन्द्वका क्रममा फागुन १४ गते रम्तेलको ज्यान गएकाे थियो । सूर्यज्योती माध्यमिक विद्यालयका शिक्षक वीरबहादुर गुरुङलाई प्रहरीले गरेको गिरफ्तारीविरुद्ध विद्यार्थीहरूले गरेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर रम्तेल र रामप्रसाद भट्ट घाइते भएका थिए । उपचारका लागि घ्याम्पेसाल हुँदै गोरखा अस्पताल ल्याउने क्रममा अश्राङकाे झिँगटेमा रम्तेलको ज्यान गएकाे थियो । 

साविकको पन्द्रुङ गाविसको जराङमा रहेकाे ब्रम्हचारिणी निम्न माध्यमिक विद्यालयमा कक्षा ४ मा पढ्ने रम्तेल १० वर्षका हुनुहुन्थ्याे । उहाँलाई माओवादीले जनयुद्धका प्रथम शहीदका रूपमा सम्मान र स्मरण गर्दै आएको छ । रम्तेलको जन्मस्थलमा शहीद दिलबहादुर रम्तेल स्मृति पार्क निर्माण भइरहेको छ । पार्क निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गाउँपालिकासँग साझेदारी गरेको छ । मन्त्रालयको तीन करोड ५० लाख र गाउँपालिकाको डेढ करोड रुपैयाँ लगानीमा पार्क निर्माणको काम चलिरहेको छ । पार्क निर्माणको काम अन्तिम चरणमा पुगेको छ । रम्तेल मारिएको फागुन १४ र झापा आन्दोलनमा लागेकाहरूलाई नियन्त्रणमा लिएर सुखानीको जङ्गलमा हत्या गरिएको दिन फागुन २१ गते एक हप्तासम्म तत्कालीन माओवादीहरूले ‘बलिदान दिवस’ को रूपमा मनाउने गर्दछन् ।

तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया