सुपर मादी हाइड्रोपावरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा

 चैत ११, २०७९ शनिबार १६:२३:२४ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - कास्कीको मादी गाउँपालिकामा निर्माण भएको सुपर मादी हाइड्रोपावरको बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको छ । सुपर मादी जलविद्युत् (हाइड्रोपावर) बाट उत्पादित १५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा शनिवार आजदेखि नियमित जडान भएको हो ।

वर्षायाममा ४४ मेगावाट क्षमताको सुपरमादीले पीपीए अनुसार चैतमा १३ मेगावाट क्षमता भए पनि १५ मेगावाट उत्पादन गरेको सुपर मादी हाइड्रोपावर कम्पनीका अध्यक्ष पुष्पज्योति ढुङ्गानाले बताउनुभयाे । उहाँले बिहीवारदेखि परीक्षण उत्पादन गरेर पनि आजदेखि नियमित उत्पादन सुरु भएको बताउनुभयाे । 

७ अर्ब ६५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा १ अर्ब रुपैयाँभन्दा बढी लागत बढेको उहाँले बताउनुभयाे ।  कोरोना, युक्रेन युद्धका कारण सामग्रीहरुको मूल्य बढ्नु, बैंकको ब्याजदर बढ्नु र गएको असारमा बाढीले क्षति पुर्याउँदा लागत बढेको बताउनु भयाे।

मादी किनारको कलबन्दीबाट सुरु हुने सुपर मादीको ६ किलोमिटर सुरुङ मार्ग छ भने कमजोर भाैगोलिक अवस्थाका कारण करिब ८ सय मिटर पेनस्टक पाइप सुरुङभित्र जडान गरेको उहाँले बताउनुभयाे । 

भारतबाट प्रतियुनिट १२ रुपैयाँमा अहिले विद्युत् खरिद गर्नु पर्ने अवस्थामा सुपरमादी सञ्चालनले टेवा पुग्ने उहाँको भनाइ छ । मादीको सोंदामा पावर हाउस रहेको छ । हाइड्रोपावरको काम २०७५ साल मंसिरदेखि सुरु भएकाे थियाे । 

आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको लेखनाथ सबस्टेसनमा जोडिएको छ ।  विद्युतगृहदेखि माथिल्लो मादीको पावरहाउससम्म करिब ९ किलोमिटर प्रसारण लाइन रहेको छ । सानिमा बैंकको अगुवाइमा कुमारी बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य, एनआईडीसीएल र प्रभु बैंक लगायतकाे लगानी रहेको छ । लगानीकर्ताले २ अर्ब १० करोड रुपैयाँ लगानी गरेका छन् । 

आयोजनाबाट वार्षिक २४२ दशमलव ६५ गिगावाट घण्टा बिजुली उत्पादन हुनेछ । उत्पादित विद्युत् विद्युतगृहदेखि ९ किलोमिटर दूरीमा रहेको माथिल्लो मादी विद्युतगृह नजिकैको सबस्टेसनमा जोडिएको छ । सबस्टेसनसम्मको आवश्यक ३३ केभी प्रसारण लाइन कम्पनी आफैँले बनाएको हो ।

आयोजनाबाट २०७८ चैतभित्र विद्युत् उत्पादन गर्ने तालिका भए पनि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी, २०७८ असार १ गते मादी खोलामा आएको बाढीले संरचना नै भत्काएपछि प्रभावित भएको कम्पनीले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया