गोरखा अस्पतालमा आईसीयू सेवा सुरु, प्रधानमन्त्रीद्वारा उद्घाटन

 चैत २४, २०७९ शुक्रबार १७:२६:५१ | किरण लोहनी
unn.prixa.net

गाेरखा – गोरखा अस्पतालले सघन उपचार कक्ष (आईसीयू) सेवा सुरु गरेको छ । अस्पताल स्थापनाको ५० वर्ष पुगेको अवसरमा आज शुक्रवारदेखि आईसीयू सेवा सुरु भएकाे हाे । पाँच शय्याको आईसीयू कक्षको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभयो ।

५० शय्याको गोरखा अस्पतालमा शय्यालगायतका उपकरण उपलब्ध भए पनि आईसीयू सेवा सुरु हुन सकेको थिएन । तर कोरोना सङ्क्रमण उच्च भएको बेला अस्पतालले २२ शय्यासम्मको एचडीयू सेवा उपलब्ध गराएको थियो । त्याे सेवालाई पाँच शय्यामा कायम राख्दै पाँच शय्याकै आईसीयू सेवा पनि सुरु गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो । आईसीयू नहुँदा उच्च जोखिममा रहेका बिरामीलाई उपचारका लागि चितवन, काठमाण्डौलगायतका अस्पतालमा रेफर गर्ने गरिएको थियो । 

यो सेवा उपलब्ध भएपछि जोखिमयुक्त बिरामीको शल्यक्रिया गर्न पनि सहज हुने अस्पतालका सूचना अधिकारी ढकालले बताउनुभयो । आईसीयू कक्षका लागि आवश्यक पर्ने जनशक्ति एक महिनाअघि नै व्यवस्थापन भइसकेको अस्पतालले जनाएको छ ।

आईसीयू कक्ष उद्घाटनसँगै अस्पताल परिसरमा आयोजित स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गोरखाको विकासको सन्दर्भमा व्यक्त गरिएका चुनावी प्रतिबद्धता क्रमैसँग पूरा गर्दै जाने बताउनुभयो । बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणकाे काम केही हप्ताभित्रै शिलान्यास गरिने उहाँको भनाइ छ । यस्तै गोरखकाली रबर उद्योग पुनः सञ्चालनको गृहकार्य भइरहेको पनि प्रचण्डले बताउनुभयो । पालुङटार विमानस्थललाई हवाई प्रशिक्षण स्थलका रूपमा विकास गर्नेबारे पनि छलफल भइरहेको उहाँको भनाइ छ ।

‘भर्खरै सरकारले सय दिन पूरा गरेको छ, राजनीतिक हिसाबले यो सय दिन निकै उतारचढावमय रह्यो’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘तर जहाँ आएर ल्यान्ड हुनुपर्ने थियो, त्यही भएको छ । राजनीतिक स्थिरता प्राप्त भएको छ ।’

त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले स्वर्ण जयन्ती स्तम्भ अनावरण, स्मारिका विमोचन र कर्मचारीहरूलाई सम्मान गर्नुभयो । गोरखा अस्पतालको स्थापना २०२९ साल चैत २४ गते भएको हो । १५ शय्याबाट सेवा सुरु गरेको अस्पतालले २०६९ सालदेखि ५० शय्यामा स्तरोन्नति गर्दै सेवा सञ्चालन गर्दै आएको छ । 

यसअघि माओवादी केन्द्र गोरखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार गठन भएपछि देशको अर्थतन्त्रमा सकारात्मक सङ्केत देखापरेको बताउनुभयो । यस्तै जिल्लाका कार्यालय प्रमुखहरूसँगको बैठकमा उहाँले मिटरब्याज पीडितहरूको समस्याको छिटो किनारा लगाउन निर्देशन दिनुभयो । मिटर ब्याज पीडितको माग सम्बोधनका लागि केही दिनभित्रै ऐन जारी हुने पनि उहाँले जानकारी दिनुभयो । बैठकमा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले जिल्लाका विभिन्न समसामयिक सवालबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया