म्याग्दीको नर्जा झरनाको आकर्षण (तस्बिरसहित)

 चैत २५, २०७९ शनिबार १५:४४:१९ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – भीर, पहराको सहारा लिएर छङ्छङ् गर्दै बग्ने  झरना । एकनासले माथिबाट तलतिर खसिरहने निकै सुन्दर, आकर्षक अनि मनमोहक म्याग्दीको नर्जा झरना जति हेर्‍यो उति हेरिरहुँ जस्तो लाग्छ ।

नर्जा झरनाभन्दा माथि तोस्काटे भन्ने ठाउँ पर्दछ भने तलतिर अनि दाँयाबाया मुना र लुलाङ गाउँ । भिरालो परेको पाखो र नर्जा ठाउँबाट भीर पहराको सहारा लिँदै बगिरहने नर्जा झरनाको फेदीमा पुग्ने हो भने धित मरुञ्जेल झरनालाई हेरेर रमाउँदै आनन्द लिन सकिन्छ । 

हिमाली जिल्ला म्याग्दीमा यस्ता झरनाहरु थुप्रै छन् । कतिपय झरनाहरु वर्षामा मात्रै सुस्साउँछन् भने केही झरना बाह्रैमास सुस्साइरहन्छन् । त्यहीमध्येको एक हो, नर्जा झरना पनि । नर्जा झरनाको बारेमा जानकारी पाउनेहरु सायद कमै होलान् । घाम परेको समयमा इन्द्रेणीका रङहरु समेत देख्न सकिने यस झरना पछिल्लो समय स्वदेशी र विदेशी पर्यटकको रोजाइमा पर्दै जान थालेको छ । झरनाकै कारणले गर्दा पर्यटकको चहलपहल बढेको स्थानीयवासी बताउँछन् । 

पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–२, लुलाङ र ३ नम्बर वडा मुनाको सीमानामा पर्ने नर्जा झरना हेर्दा निकै सुन्दर, आकर्षक र मनमोहक छ । लुलाङ र मुना गाउँको माथिल्लो सिमानाबाट झर्ने नर्जा झरनाभन्दा माथि मानव वस्ती नभएको हुँदा झरना एकदमै सफा र कञ्चन रहेको छ । पछिल्लो समय शनिबार तथा बिदाको दिन झरनामा रमाउन पर्यटकहरु धेरै जाने गरेका छन् । 

झरनालाई पृष्ठभूमिमा पारेर सेल्फी फोटो र भिडियो खिच्न तथा टिकटक बनाउनका लागि भए पनि पर्यटकहरु नर्जा झरनामा जाने गर्दछन् । झरनामा मोबाइलमा टिकटक बनाउनेहरुको पनि भीड लाग्ने गरेको छ । गर्मी छल्न समेत मानिसहरु झरनामा जाने गरेको स्थानीवासी बताउँछन् । गूर्जा र चुरेन हिमाल जाने पदमार्गअन्तर्गत पर्ने नर्जा झरनामा पुगेर रमाउन पाँउदा आफूले आनन्दको अनुभूति गर्न पाएको स्वदेशी पर्यटक नवराज मोक्तानले अनुभव सुनाउनुभयो । 

धवलागिरि गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरुमध्ये एक मानिने नर्जा झरना प्रचारप्रसार तथा भौतिक पूर्वाधार नबन्दा ओझेलमा परेको छ । पर्यटकीय सम्भावना बोकेको यस झरनामा पर्यटक लक्षित भौतिक पूर्वाधारहरु बनाउन सकेमा धवलागिरि गाउँपालिकाको पर्यटन प्रवर्द्धन हुने देखिन्छ । झरनाको पर्यटन प्रवर्द्धन गर्न आवश्यक पहल थालिएको लुलाङका वडा सचिव गिरिराज शर्माले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया