भारतमा बाघको सङ्ख्या बढेर तीन हजार एक सयभन्दा धेरै

 चैत २७, २०७९ सोमबार ७:२४:० | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

भारतमा बाघको सङ्ख्या बढेर तीन हजारभन्दा धेरै पुगेको छ । पछिल्लो गणना अनुसार भारतमा बाघको सङ्ख्या तीन हजार १६७ वटा पुगेको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ ( आई.यू.सी.एन.) लाई उद्धृत गर्दै एएफपीले जनाएको छ । चार वर्षअघि भारतमा बाघको सङ्ख्या दुई हजार ९६७ थियो ।

सन् १९४७ मा बेलायतबाट स्वतन्त्र हुँदा भारतमा बाघको सङ्ख्या झण्डै ४० हजार रहेको अनुमान गरिएको छ । त्यसपछिका दशकहरूमा घटेर सन् २००६ मा एक हजार ४११ मा झरेको थियो । सन् २०१० मा भारतसहित बाघको सङ्ख्या भएका अरु १२ देशले सन् २०२२ सम्ममा पाटे बाघको सङ्ख्या दोब्बर बनाउने सम्झौतामा हस्ताक्षर गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाघको नयाँ सङ्ख्यालाई गर्वको क्षण भन्नुभएको छ । भारतमा बढेको बाघको सङ्ख्या विश्वकै लागि गर्वको विषय भन्दै उहाँले नागरिकको सहभागिता र देशको संरक्षणको संस्कृतिका कारण भारतले बाघको सङ्ख्या बढाउन सफल भएको बताउनुभएको एएफपीले जनाएको छ । अहिले विश्वमा रहेको बाघको सङ्ख्याको ७५ प्रतिशत हिस्सा भारतमै रहेको र भारत विश्वकै सबैभन्दा ठूलो बाघ रेञ्ज भएको देश रहेको उहाँले बताउनुभयो ।

अहिले विश्वमा झण्डै चार हजार पाँच सय वटा बाघ रहेको विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ)ले जनाएको छ । सन् १९०० मा संसारमा एक लाखभन्दा धेरै बाघ रहेकामा सन् २०१० मा बाघको सङ्ख्या तीन हजार २०० मा झरेको थियो। आईयूसीएनका अनुसार बितेको सय वर्षमा बाघले आफ्नो ऐतिहासिक दायराको ९३ प्रतिशतभन्दा बढी हिस्सा गुमाइसकेको छ । अहिले १३ देशमा मात्र बाघको अस्तित्व जोगिएको छ। 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया