खाद्यान्नको जोहो गर्न विज्ञको सुझाव, सरकार भन्छ : गम्भीर छौँ

 बैशाख २२, २०८० शुक्रबार १३:३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - विज्ञहरुले यो वर्ष खाद्यान्न सङ्कट हुन सक्ने चेतावनी दिएका छन् ।

हिजाे जल तथा मौसम विज्ञान विभागले आउँदाे मनसुन सिजनको अवस्थाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा विज्ञहरुले खाद्य चक्रलाई सहज बनाउन सरकारलाई सचेत गराएका हुन् ।उनीहरुले हिउँदमा पनि आवश्यक वर्षा नभएको र आउँदाे मनसुनमा कम वर्षा हुने भएकाले खाद्य चक्रलाई सहज बनाउन सरकारले विशेष कार्यक्रम लागू गर्नुपर्ने  सुझाव दिएका छन्। 

उनीहरुले नेपालमा यस वर्षको वर्षायाममा आवश्यक मात्रामा वर्षा नहुँदा सम्पूर्ण खाद्य प्रणालीमा नै समस्या देखिने र वातावरणीय समस्या उत्पन्न हुने बताएका छन् । 

विज्ञहरुले गएकाे वर्षको हिउँदमा पनि आवश्यक भन्दा कम वर्षा भएको र वर्षायाममा पनि सुक्खा खडेरी पर्ने हुँदा भोकमरी, कृषि उत्पादनमा कमी लगायत अन्य समस्याहरु सिर्जना हुनसक्ने भन्दै पूर्वतयारीका साथ रहनुपर्नेमा जोड दिएका हुन् । 

जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले यस पटकको वर्षायाममा आवश्यक वर्षा नहुने भन्दै सरकारले खाद्य सुरक्षाका लागि आवश्यक रणनीति बनाइ पूर्व तयारी थाल्नुपर्ने सुझाव दिनुभयो । उहाँले गहुँ, धान, मकै लगायतका बालीहरुमा कमी आउने र खाद्यान्न पहिलाको भन्दा बढी आयात गर्नुपर्ने स्थिति आउनसक्ने भन्दै समयमा नै पूर्वतयारी गर्न सरकारलाई सुझाव दिनुभयो । 

उहाँले वर्षायाम आउँदा समुद्रकाे सतहको तापक्रममा आएको उत्तारचढावका कारण कम वर्षा हुने बताउनु भयो । यस वर्षको वर्षायाममा औषत भन्दा कम वर्षा हुने प्रक्षेपण विभिन्न अध्ययनले देखाइसकेको भन्दै आकाशे खेतीहरु घट्ने बताउनु भयो । उहाँले दक्षिण एसियाली क्षेत्रमा यस पटक कम वर्षा हुने आकलन गरिएकाले त्यसको असर नेपालमा पनि पर्ने बताउनु भयो । विज्ञ डा. उप्रेतीले जलवायु परिवर्तनका कारण वर्षा कम हुँदा कृषि उत्पादकत्व घट्ने हुनाले सबैले समयमा नै खाद्यान्नको जोहो गर्न आग्रह गर्नुभयो ।

यता सरकारले आउँदाे मनसुन सिजनमा कम वर्षा हुने मौसमविद्हरुको आकलन रहेको भन्दै खाद्यान्न जोहो गर्नुपर्नेमा सरकार सचेत रहेको बताउनु भयो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माले मौसमविद्हरुको अनुमानलाई मध्यनजर गरेर सरकारले मौसमी अन्नबालीमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याएको बताउनु भयो । उहाँले गएका वर्षहरुको तुलनामा यस वर्ष आकाशे पानी मनसुन सिजनमा कम हुने आकलन रहेको भन्दै त्यही अनुसार सरकारले आवश्यक रणनीति बनाइरहेको बताउनु भयो । 

उहाँले मनसुन सिजनमा विशेष गरी धान रोप्ने बेलामा मध्यनजर गरी सिँचाइमा विशेष जोड दिनुपर्ने देखिएको बताउनु भयो । सचिव शर्माले सरकारले सबै पालिकाहरुमा मौसमबारे पूर्वसूचना प्रणाली विस्तार गरी नागरिकलाई सुसूचित बनाउनुपर्ने बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया