पर्यटकीय गन्तव्य बन्दै म्याग्दीको फूलबारी (फोटोफिचर)

 बैशाख २३, २०८० शनिबार २०:९:३४ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, हिस्तानमा पर्ने फूलबारी पर्यटकीय गन्तव्य बन्दै गएकाे छ । फूलबारीमा पछिल्लो समय खान र बस्नका लागि होटल र पदमार्गको पहुँच विस्तार भएपछि पर्यटकको चहलपहल बढ्दै गएको हो। 

समुद्री सतहदेखि २९ सय मिटरको उचाइमा अवस्थित फूलबारीबाट हिउँचुली, अन्नपूर्ण साउथ र प्रथम, बराहशिखर, निलगिरि साउथ, धम्पुस, टुकुचे पिक, धवलागिरि प्रथमदेखि पाँचौँसम्मका हिम चुचुरा, गुर्जालगायत हिमालहरु देखिन्छन् । यहाँको वनपाखामा फागुनदेखि जेठ महिनासम्म विभिन्न प्रजातिका लालीगुराँसहरु फुल्दछन् । 

फूलबारी क्षेत्रमा सतुवा, यार्सागुम्बा, पाँचऔँले, चिराईतोलगायत लेकाली जडीबुटीहरु प्रशस्तै पाइन्छन् । फूलबारीको आसपासबाट मनोरम हिमश्रृङ्खलासँगै पर्यटकीय क्षेत्रहरु नांगी, राखु, खोप्रालेक छिमेकी जिल्ला पर्वतको पर्यटकीय क्षेत्र लोप्रे, फलामेडाँडालगायत डाँडाकाँडाहरु पनि देखिन्छन् । 

अहिले फूलबारीमा नेपाली पर्यटकहरुसहित अमेरिका, ब्राजिल, क्यानडा, जर्मनी, रसिया, अस्ट्रेलिया, कोरिया, जापान, चीनलगायत देशहरुबाट पर्यटकहरु आउने गरेका छन्। यहाँबाट पर्यटकीय क्षेत्र महरेडाँडा, घोरेपानी, पुनहिल, खोप्रालेक, काफलडाँडा जान सकिन्छ । 

म्याग्दीको पर्यटकीय क्षेत्र पुनहिल र महरेडाँडाको बीचमा पर्ने भएकाले प्रायजसाे पर्यटकहरु फूलबारी क्षेत्रको पदमार्ग हुँदै दुवैतर्फ आउजाउ गर्ने गर्दछन् । यहाँ पछिल्लोपटक स्वदेशी पर्यटकहरु बढ्दै गएका छन् । 

पर्यटकीय क्षेत्र फूलबारीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित गुराँस पार्क (उद्यान) निर्माण भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा गण्डकी प्रदेश सरकारको सहयोगमा डिभिजन वन कार्यालय म्याग्दीमार्फत् गुराँसपार्क निर्माण गरिएको हो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

1 Comments

  • Kesh budhathoki

    May 7, 2023, 9:36 a.m.

    धेरै राम्रो यस्ता अतभुत रमाइला गन्तव्यहरुको पहिचान गर्दै। कलम चलाउनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद ।

  •  0 Reply

तपाईको प्रतिक्रिया