पदमार्गले जाेडियाे पर्यटकीय क्षेत्र जगन्नाथ–डढेकोत

 बैशाख २५, २०८० सोमबार २०:५:२२ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरकाे गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ–डढेकोत क्षेत्र पर्यटन पदमार्गले जोडिएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा चिनिएको जगन्नाथ र डढेकोत दरबार क्षेत्र जगन्नाथ मन्दिरदेखि डढेकोतसम्म भर्खरै पदमार्ग निर्माणले पूर्णता पाएको हो । 

आर्थिक वर्ष २०७७/०७८ देखि सुरु भएको जगन्नाथदेखि डढेकोतसम्म पदमार्ग निर्माणले चालु आर्थिक वर्ष २०७९/८० मा आएर पूर्णता पाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्राप्त बजेटले जगन्नाथ मन्दिर रहेको गाजने गाउँदेखि डढेकोत दरबारसम्मै ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको बेनी नगरपालिकाले जनाएको छ । 

जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समिति गाजनेका सचिव निलकण्ठ शर्माले अब जगन्नाथ मन्दिरमा आउने भक्तजन र केभहिल भ्रमणमा आउने पर्यटक सजिलै डढेकोत दरबार क्षेत्रमा पुग्ने जानकारी दिनुभयो । पदमार्ग निर्माणपछि जगन्नाथ मन्दिरदेखि झन्डै एक घण्टाको पैदल दुरीमा रहेको डढेकोतको बाटो १५ मिनेटमा छोटिएको उहाँले बताउनुभयो ।

ग्रामीण क्षेत्रमा रहेका बेरोजगारलाई रोजगारी दिने उद्देश्यसहित नेपाल सरकारबाट प्राप्त बजेटले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताउनुभयो । स्थानीयस्तरको आवश्यकता र मागको आधारमा योजना छनोट गरी सञ्चालन गरिएको हुँदा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सञ्चालित योजनाहरू अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटबाट पदमार्ग निर्माणले स्थानीयस्तरमा धार्मिक तथा पर्यटकीय क्षेत्रको पर्यटन प्रवर्धन हुने अपेक्षासमेत गरिएको छ । 

चालु आर्थिक वर्षमा बेनीमा पाँच सय २० जना बेरोजगार सूचीकृत भएकामा ६७ जनालाई न्यूनतम एक सय दिन बराबरको रोजगारी सिर्जना हुने गरी बजेट आएको नगरपालिकाको रोजगार शाखाका रोजगार संयोजक कुलचन्द्र रेग्मीले बताउनुभयो । उहाँले त्यही बजेटमध्ये जगन्नाथ–डढेकोत पर्यटन पदमार्ग निर्माणमा यस वर्ष तीन लाख ५२ हजार रुपैयाँ लगानी भएको जानकारी दिनुभयाे । डढेकोतसम्म पुग्ने पदमार्ग निर्माणमा गएकाे वर्ष नयाँगाउँ–जगन्नाथ क्षेत्रमा पाँच लाख ३७ हजार र गएकाे भन्दा अघिल्लो वर्ष सात लाख ६७ हजार रुपैयाँ बजेट परेको थियो । 

यस वर्ष विश्व बैंकको ऋण अनुदान र नेपाल सरकारबाट रोजगारी सिर्जना गर्ने गरी ४६ लाख दुई हजार रुपैयाँ बजेट प्राप्त भएकोमा बेनीका सबै वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भइरहेको रोजगार संयोजक रेग्मीको भनाइ छ । चालु वर्षमा बेनीको रत्नेचौर, ज्यामरुककोट, सिङ्गा, पुलाचौर, घतान र पात्लेखेत वडाभित्रका विभिन्न ठाउँमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पदमार्ग निर्माणको काम भइरहेको छ। 

ऐतिहासिक जगन्नाथ मन्दिर तथा गाजने गाउँको सिरमा डढेकोत राजदरबार छ । यहाँ अहिले दरबारको भग्नावशेष मात्रै भेट्न सकिन्छ । यहाँ एउटा सानो कोत मन्दिर रहेको हुँदा स्थानीयले हरेक वर्षको बडादशैँमा नवदुर्गाको पूजा गर्दै आएका छन् । समुद्री सतहदेखि दुई हजार तीन सय मिटरको उचाइमा रहेकाे डढेकोत दरबारको आसपासबाट हिमशृङ्खलासहित ग्रामीण सौन्दर्यता हेर्न पाइन्छ । तत्कालीन पर्वत राज्यको दरबार रहेको डढेकोतमा ठूलाे वज्रपात परेपछि दरबार ध्वस्त भई डढेको भन्ने इतिहास रहेकाले डढेकोत दरबार भनिएको हो ।

नेपालमा बाईसे–चौबीसे राज्य कायम रहेको समयमा तत्कालीन ऐतिहासिक पर्वत राज्यको दरबार डढेकोत भन्ने ठाउँमा रहेको इतिहासमा भेटिन्छ । त्यही क्रममा पर्वत राज्यको राजकाज सम्हालेका समालवंशका तृतीय मल्लराजा दिलिपबम मल्ल (डिम्ब) ले डढेकोतमा रहेको राजदरबारबाट पर्वत राज्यको शासन गरेका थिए । राजा मल्लले सन् १५६० को दशकमा भारतको उडिसा राज्यमा गएर जगन्नाथ भगवानको मूर्ति ल्याई गाजने गाउँको हलहलेचौर भन्ने ठाउँमा जगन्नाथ मन्दिर स्थापना गरेको किंवदन्ती पाइन्छ । 

धार्मिक तथा पर्यटकीय क्षेत्र डढेकोतबाट सूर्योदय र सूर्यास्त तथा संसारको सातौँ अग्लो चुचुरो धौलागिरि, दशौँ अग्लो चुचुरो अन्नपूर्ण तथा निलगिरि, माछापुच्छ्रे, मानापाथी, गूर्जा, चुरेनलगायतका दर्जन बढी हिमाल हेर्न पाइन्छ । म्याग्दीको बेनी नगरपालिकासहित छ वटै पालिका र ४५ मध्ये ३६ वटा वडा (गाउँ) यहीँ ठाउँबाट देख्न सकिन्छ । यसैगरी छिमकी जिल्ला पर्वतको उत्तरी जलजला गाउँपालिकासहित बाग्लुङ, मुस्ताङ र अन्य जिल्लाको डाँडाकाँडा पनि यहाँबाट देखिन्छन् ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया