प्रधानमन्त्रीले नेपाली भू–भाग समेटिएकाे नक्सा सच्याउनुस् भनेर भारतसँग कुरा गर्नुपर्छ : ओली

 जेठ १६, २०८० मंगलबार १६:१२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद् भवनमा राखिएकाे ‘अखण्ड भारत’ काे नक्सामा नेपालको भूमि समावेश गरिएकोबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग कुरा गर्नुपर्ने बताउनुभएकाे छ । भारतको नयाँ संसद् भवनमा काठमा कुँदिएको भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि रहेको भन्दै उहाँले त्याे उचित नभएकाे प्रतिक्रिया दिनुभयाे । 

अखिल नेपाल महिला सङ्घले मङ्गलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले भारतजस्तो एउटा पुरानो, सुदृढ र नमुना लोकतन्त्र भनिएको देशले त्यस्तो व्यवहार गर्न नमिल्ने स्पष्ट पार्नुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा त्याे नक्सा संसद् भवनबाट हटाउने कुरा भारत सरकारसँग गर्नुपर्ने बताउनुभयो ।

भारतसँग त्याे गल्ती सच्याउनेबारेमा कुरा नगर्ने हो भने प्रधानमन्त्री भारत भ्रमणमा जानुको कुनै अर्थ नहुने ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भारतकाे संसद् भवनमा राखिएकाे नक्सामा नेपालकाे लुम्बिनी र कपिलवस्तु पनि रहेकाे कुरा आइरहेकाे छ । नेपालको भूमि आफ्नो नक्साभित्र राखेर संसद्जस्तो ठाउँमा राख्ने काम भारतजस्तो एउटा पुरानो, सुदृढ, नमुना लोकतन्त्र भनिएको देशले गर्छ भने त्यो व्यवहारलाई उचित भन्न सकिँदैन । प्रधानमन्त्रीजी भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो नक्सा हटाउनुस्, त्यो गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग कुरा गर्नुपर्छ । यति कुरा गर्न सक्नु हुन्न भने भारत भ्रमणमा किन जाने ?’

अध्यक्ष ओलीले शक्तिराष्ट्रहरूले बलमिच्याइँ गरिरहेकाले कमजोर देशहरूले न्यायको खोजी गरिरहनुपरेको पनि बताउनुभयाे ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया