प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीद्वारा रेलमार्गको उद्घाटन

 जेठ १८, २०८० बिहिबार १३:३५:३८ | रासस
unn.prixa.net

काठमाण्डौ – भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेल्वे सेवाको संयुक्तरुपमा उद्घाटन गर्नुभएको छ । 

नयाँदिल्लीको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर कार्गो रेल्वे सेवाको उद्घाटन गर्नुभएको हो । 

प्रधानमन्त्री प्रचण्ड र उहाँका भारतीय समकक्षी मोदीले झण्डा देखाएपछि बथनाहाबाट भारतीय पक्षले कार्गो रेललाई बिदाइ र बुधनगरमा नेपाली सरकारी अधिकारीले स्वागत गर्नेछन् । 

विराटनगरको एकीकृत भन्सार जाँच चौकीसम्म आइपुग्ने मालवाहक रेलले केही उद्योगका लागि कच्चापदार्थ ढुवानी गरेको छ । लामो समयदेखि कोशी प्रदेशका व्यवसायीले सीमा क्षेत्र बथनाहादेखि विराटनगरको एकीकृत जाँच चौकीसम्म सञ्चालनमा रहेको रेललाई माल सामान ढुवानीका लागि खुला गरेर सहजीकरण गर्न अनुरोध गर्दै आएका थिए । 

भारतको बथनाहाबाट विराटनगरको आइसिपी रेल्वे स्टेसनसम्म बिछ्याइएको आठ किलोमिटर रेलमार्ग तयारी अवस्थामा छ । याे रेलमार्ग २०७५ कात्तिक ८ गते रेल सञ्चालनका लागि परीक्षणसमेत भइसकेको छ । बुधवार पनि याे रेलमार्गको पुनःपरीक्षण गरिएको रेल विभागले जनाएको छ । 

आज उद्घाटन भएपछि याे रेलमार्ग नियमितरुपमा सञ्चालन हुनेछ । यात्रुवाहक रेल भने शीघ्र सञ्चालनमा ल्याउने तयारी छ । यात्रुवाहक रेलका लागि भने कटहरीसम्म रेलमार्ग निर्माण हुनुपर्नेछ । त्यसका लागि पनि आवश्यक तयारी भइरहेको छ । 

बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म १८ दशमलव एक किलोमिटर लामो रेलमार्ग सन् २०११ देखि निर्माण सुरु भएको भए पनि पूरा हुन सकेको छैन । केही स्थानमा मुआब्जा विवाद कायमै छ । याे समस्या समाधानका लागि पहल भइरहेको छ । 

भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा याे रेलमार्ग निर्माण भएको हो । विवरणअनुसार भारतको बथनाहाबाट विराटनगर हुँदै कटहरी गाउँपालिकाको महेशपुरमा अन्तिम स्टेशन निर्माण गर्ने सरकारको योजना छ । कूल लम्बाइमध्ये भारततर्फ पाँच र नेपालतर्फ १३ किलोमिटर बराबर छ । 

आयोजनाको कूल लागत तीन अर्ब ७३ करोड भारतीय रुपैयाँ छ । उक्त रेलमार्ग निर्माणको जिम्मा भारतीय कम्पनी इरकोनले लिएकोे थियो । यस्तै हाल जनकपुर जयनगर रेलमार्गसमेत सञ्चालनमा छ । याे रेलमार्ग महोत्तरीको बर्दिवाससम्म निर्माणाधीन छ । 

केही स्थानमा भने निर्माण सम्पन्न भइसकेको छ । भारत सरकारले नेपालका विभिन्न छ स्थानमा रेलमार्ग निर्माण गर्ने सम्झौता तत्कालीन राष्ट्रपति डा रामवरण यादवको भारत भ्रमणका क्रममा भएको थियो । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया