म्याग्दी पूर्णखोप सुनिश्चितताको दिगोपना जिल्ला घोषित

 असार २८, २०८० बिहिबार २०:३२:१० | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीलाई आज (बिहीवार) एक समारोहबीच पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाको रूपमा घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चित जिल्ला हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित म्याग्दीलाई पूर्णखोप सुनिश्चिता दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

बच्चा जन्मिएको १५ महिनादेखि ५ वर्षमुनिका कुल ४४ सय २१ जना बालबालिकाले पूर्णखोप पाएको सुनिश्चिततासहित म्याग्दीलाई पूर्ण खोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चित दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार १५ महिनाभन्दा मुनिका १७ सय १२ जना बालबालिकाले पनि पूर्णखोप लगाइरहेका छन् ।

राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाहरूले सबै खोपको मात्रा पूरा गरेको तथा खोप निर्देशिकाअनुसार आवश्यक सबै प्रक्रिया पूरा गरेर म्याग्दीलाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाको रूपमा घोषणा गरिएको निमित्त प्रमुख लम्सालले बताउनुभयो । बालबालिकाहरूले १५ महिनादेखि ५ वर्षको उमेरसम्म पोलियो, दादुरा, हेपाटाइटिस, जापानिज इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला, टाइफाइडलगायत रोगहरूको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पूरा गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

चालु वर्षमा जिल्लाको सबै घरधुरीमा सर्वेक्षणसहित ५ वर्षमुनिका बालबालिकाहरूको विवरण सङ्कलन गर्नुका साथै छुटेका बालबालिकाहरूलाई पुनः खोप लगाउने व्यवस्था गरिएको थियो । यसैगरी पूर्णखोप लगाएका बालबालिकाहरूको घरमा पूर्णखोप घर लेखेको स्टिकर टाँसिएकाे छ ।

पूर्णखोप सुनिश्चितताको दिगोपना जिल्ला घोषणा कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले म्याग्दीलाई पूर्णखोप सुनिश्चित दिगोपना कायमसहित खोप कार्यक्रमलाई आउँदा दिनमा पनि निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको बजेट नघटाई उच्च प्राथमिकताका साथ कार्यक्रमहरू सञ्चालनमा जोड दिएको बताउनुभयो ।

यस्तै प्रदेशको खोप समन्वय समितिका संयोजक डाक्टर विनोदविन्दु शर्माले स्वास्थ्यको क्षेत्रमा स्वास्थ्यकर्मीहरूको भूमिका महत्त्वपूर्ण रहेको भन्दै पालिका र जनप्रतिनिधिले स्वास्थ्यमा उच्च प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मानव जीवनमा स्वास्थ्य अत्यन्त संवेदशील रहेको बताउँदै स्वास्थ्य क्षेत्रको विकासमा प्रतिस्पर्धा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा खोप अभियानमा सहयोग पुर्‍याउने जिल्लाका पालिका, विभिन्न सङ्घ–संस्था र व्यक्तिलाई सम्मान गरिएको थियो । म्याग्दीलाई यसअघि पनि २०७१ साल चैत १५ गते पहिलो पटक नेपालकै छैटौँ पूर्णखोप जिल्लाको रूपमा घोषणा गरिएको थियो । यस पटक भने जिल्ललाई पूर्णखोप सुनिश्चितता दिगोपना कायम राख्न घोषणा गरिएको हाे ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया