प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा नेता र शुभेच्छुकको घुइँचो

 कात्तिक १२, २०७५ सोमबार ११:५०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएर अस्पताल भर्ना भएको थाहा पाउनेबित्तिकै धेरैले उहाँको स्वास्थ्यअवस्थाबारे सोधीखोजी गरेका छन् । शिक्षण अस्पताल महाराजगंजमा नेता, कार्यकर्तादेखि शुभेच्छुकको घुईंचो लागेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सोमबार बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुग्नुभएको छ । प्रधानमन्त्री उपचारार्थ शिक्षण अस्पतालमा पुगेर अध्यक्ष दाहालले उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको हो । 

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना, नेकपाका महासचिव विष्णु पौडेल, नेता झलनाथ खनाल पनि अस्पताल पुग्नुभएको छ । 

यस्तै गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, नेकपाका नेता भीम रावल, टोपबहादुर रायमाझी, केशव बडाललगायतले पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको छ । 

प्रधानमन्त्रीलाई भेटेर बाहिर निस्कनुभएका नेकपा नेता रायमाझीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको र उपचार भइरहेको जानकारी दिनुभयो । 
शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ती निकालेर प्रधानमन्त्रीको स्वास्थ्य स्थितिमा क्रमिक सुधार रहेको जानकारी दिएको छ । 

सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ठ श्रेष्ठले प्रधानमन्त्रीको अरु स्वास्थ्य स्थिति सामान्य रहेको जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रधानमन्त्रीको छातीमा संक्रमण तथा शरीरमा चिनीको मात्रा असन्तुलित देखिएको छ । 

केही दिनदेखि अस्वस्थ्य भएर आराम गरिरहेका प्रधानमन्त्री ओलीलाई बिहान साढे ४ बजे अस्पताल भर्ना गरिएको हो । प्रधानमन्त्री ओलीलाई अस्पतालको कोरोनरी केयर युनिट अर्थात सीसीयूमा राखिएको उहाँको उपचारमा संलग्न डाक्टर अरुण सायमीले उज्यालोलाई जानकारी दिनुभयो ।

छातीमा संक्रमण भएकाले प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखेर उपचार गरिने उहाँले बताउनुभयो । डाक्टर अरुण सायमीको नेतृत्वमा प्रधानमन्त्रीका निजी डाक्टर दिव्या सिंह र छाती रोग विशेषज्ञ डाक्टर सन्तकुमार दास संलग्न हुनुहुन्छ । प्रधानमन्त्रीको सचिवालयले हिजो विज्ञप्ति निकालेर उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको थियो । 
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया