बसपार्क सञ्चालनमा आएको १७ वर्षपछि टर्मिनल भवन उद्घाटन

 साउन ३, २०८० बुधबार २०:१८:५७ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – हिमाली जिल्ला म्याग्दीमा बसपार्क सञ्चालन भएको १७ वर्षपछि टर्मिनल भवन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । म्याग्दी सदरमुकाम बेनीबजारमा रहेकाे कालीपुल बसपार्क क्षेत्रमा नवनिर्मित टर्मिनल भवनको आज (बुधवार) उद्घाटन गरिएको हो ।

सघन, सहरी तथा भवन निर्माण आयोजना कार्यालय बाग्लुङद्वारा निर्मित टर्मिनल भवनको निर्माण कार्य सकेर गएको वैशाख १७ गते म्याग्दीको बेनी नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । टर्मिनल भवन निर्माण गर्नका लागि विसं २०७८ पुस महिनामा शुभ कन्ट्रक्सनसँग आयोजनाले दुई करोड ८५ लाख ४५ हजार रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको थियो ।

बसपार्कमा निर्माण गरिएको २८९ दशमलव ५ वर्गमिटर क्षेत्रफलमा निर्मित एकतले टर्मिनल भवनभित्र टिकट काउन्टर, शौचालय र यात्रु प्रतीक्षालय बनाइएको छ । नवनिर्मित भवनबाट देशका विभिन्न ठाउँमा छुट्ने गाडीकाे काउन्टर सञ्चालनको व्यवस्था गरिएको छ । विसं २०६४ सालमा पर्वत र म्याग्दी जोड्ने कालीगण्डकी नदीमाथि पक्की मोटरेबल पुल निर्माण भएपछि कालीपुलमा बसपार्क सञ्चालन गरिएको थियो ।

बसपार्ककाे अपाङ्गमैत्री भवनमा सुरक्षाको निगरानी गर्नका लागि सीसीटीभी क्यामेरासमेत जडान गरिएको छ । नवनिर्मित भवनबाट आजैदेखि टिकट काउन्टर सञ्चालन गरी यात्रुलाई सेवा दिइएको कालीपुल बसपार्क व्यवस्थापन समितिले जनाएको छ । नवनिर्मित भवनको उद्घाटन गर्दै बेनी नगरपालिकाका मेयर सुरत केसीले अब एकै ठाउँबाट यात्रुले सहजरूपमा टिकट काटेर यात्रा गर्न पाउने बताउनुभयो ।

बसपार्क क्षेत्रलाई सफा र व्यवस्थित बनाउन सात जना कर्मचारी नियुक्त गरिएको हुँदा व्यवसायीबाट सरसफाइ र पार्किङको न्यूनतम शुल्क लिने निर्णय गरिएको बसपार्क व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका बेनी–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले जानकारी दिनुभयो । उहाँले सङ्कलित पार्किङ शुल्कमध्ये ४० प्रतिशत कालीपुलको बालमन्दिर विद्यालय, ४० प्रतिशत बेनी नगरपालिका र २० प्रतिशत ट्राफिक व्यवस्थापनमा लगानी गरिने बताउनुभयो ।

टर्मिनल भवन उद्घाटन कार्यक्रमको अवसरमा म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले सातौँ म्याग्दी महोत्सवबाट सङ्कलन भएको आम्दानीमध्ये ३५ हजार रुपैयाँ कालीपुल बसपार्क व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको थियो । नवनिर्मित टर्मिनल भवनबाट म्याग्दीभन्दा बाहिर लामो तथा छोटो दुरीमा चल्ने सबै गाडीलाई पठाउने व्यवस्था गरिएकाे छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया