ललिता निवास प्रकरण : नक्कली मोही बनेको आरोपमा २ जना पक्राउ

 साउन ८, २०८० सोमबार १९:३२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्कली मोही बनेर जग्गा हिनामिनामा सघाएको आरोपमा आज साेमवार ललितपुरबाट दुई जनालाई पक्राउ गरेको हाे ।

सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले नक्कली मोही बनेर जग्गा हडप्ने कार्यमा संलग्न रहेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ पर्नेमा ललितपुर बस्ने सञ्जयकुमार महर्जन र अर्का सकुलानन्द महर्जन रहेका छन् । उनीहरूसँगै अहिलेसम्म सीआईबीले २२ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । यसअघि आइतवार पनि प्रहरीले नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो ।

यस प्रकरणमा प्रहरीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, पूर्वसरकारी कर्मचारीसहितका व्यक्तिहरू पक्राउ परिसकेका छन् ।उनीहरूविरुद्ध मुलुकी ऐन २०२० को किर्तेसम्बन्धी कसुर र सङ्गठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

विसं २०४९ देखि २०६९ को अवधिमा सरकारका नाममा रहेको बालुवाटारकाे ललिता निवासको एक सय ४३ रोपनी जग्गा हिनामिना भएको थियो । यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)  ले अनुसन्धान सकेर तीन सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रतिवेदन फिर्ता गरेको थियो । त्यसपछि अहिले फेरि सीआईबीले उक्त मुद्दामा अनुसन्धान गरिरहेको छ ।

अन्तिम अपडेट: जेठ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया