बाँदरले मकै सखाप पार्न थालेपछि अर्घाखाँचीका किसान चिन्तित

 साउन १२, २०८० शुक्रबार १८:३५:९ | प्रेमनारायण आचार्य
unn.prixa.net

फाइल तस्बिर

अर्घाखाँची - अर्घाखाँचीमा बाँदरले मकै सखाप पार्न थालेपछि किसानहरु चिन्तित‍ भएका छन् । बिहानदेखि बेलुकासम्म बारीमा बस्दा समेत बाँदरबाट मकै जाेगाउन नसकेपछि किसान चिन्तामा परेका हुन् । 

किसानहरु मकैको बोटमा घोगा लागेदेखि नै सबै काम छाडेर बाँदर धपाउन  लागिपरेका छन् । 'बाँदरको हुल पस्यो भने छिनभरमा बारीभरिको मकै सखाप पार्छ, बिहानैको झिसमिसेदेखि रात नपरुञ्जेलसम्म बाँदर धपाउन परिवारका सदस्य आलोपालो गरेर बारीमा बस्ने गरेका छाैँ।' सन्धिखर्क २ भलायडाँडाका ठाकुर शालिक पोख्रेलले बताउनुभयो । 

सन्धिखर्क ८ किमडाँडाकी उमकला बन्जाडेले  बाँदरका कारण खेतबारी बाँझै राख्नुपर्ने अवस्था आउन लागेको दुखेसो पोख्नुभयो ।

बाँदरबाट बाली जोगाउन उज्यालो हुनेबित्तिकै खेतबारीमा पुग्ने कृषक बेलुका नहुञ्जेलसम्म बाली कुरेर बस्ने गर्छन् । खेतीबाली लगाउन र हुर्काउन जस्तै बाँदरबाट जोगाउन उस्तै चुनौती भएकाे किसान बताउँछन् । 

'आँखा झिमिक्क गर्नासाथ बाँदरले सारा खेतीबाली नष्ट गरिदिन्छ । खाना र खाजा खाने समय समेत पाइँदैन । बाँदर हेर्न बसेको ठाउँमै खानाखाजा पुर्याइदिनुपर्ने बाध्यता छ ।' भेषराज बन्जाडेले बताउनुभयो ।

खेतबारीमा फल्दै गरेका बाली मात्र होइन बाँदरले मान्छे नभएको मौकामा घरभित्रै पसेर अन्नपात नास गरिदिने गरेको छ । 

हिउँदको समयमा खासै दुःख नदिने बाँदरले मकै पाक्ने याममा निक्कै सताउने गरेकाे छ । बाँदरकै समस्याका कारण कतिपय कृषकले बाली लगाउनै छाडेर खेतबारी बाँझो राख्न थालेका छन् ।

सन्धिखर्क नगरपालिकाको धरम्पानी, तुमकोट, किमडाँडा, खाबडाँडा, वागला, डिभर्ना, भूमिकास्थानको धनचौर ढिकुरा, शीतगङ्गा नगरपालिका, पाणिनि गाउँपालिका, मालारानी गाँउपालिका र छत्रदेव गाउँपालिकाका प्रायजसाे गाउँहरुमा बाँदरले निक्कै दु:ख दिने गरेकाे छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया