दशैँ, तिहारका लागि खर्च जुटाउन भारत जानेको लर्को

 साउन २१, २०८० आइतबार १९:२३:१७ | रासस
unn.prixa.net

बर्दिया – शनिवार बढैयाताल गाउँपालिका–२ बर्दियाका खटकराज बुढा दशैँ–तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल–भारत सीमानाका जमुनाहा नाकामा भेटिनुभयो । बर्खे खेतीबाली सकेर चाडपर्व खर्चको जोहो गर्न भारतको सिमला जान लागेको खटराजले बताउनुभयो ।

६० वर्ष पार गरिसक्नुभएका उहाँले बर्खे बाली लगाउन घर आउने र लगाइसकेपछि फेरि कमाउन भारतको सिमला जाने गरेको बताउनुभयो । ‘परिवार एक्लैले बर्खा खेती लगाउन सक्दैनन् भनेर म लगाउन आउँछु । खेती लगाइसकिएपछि पैसा कमाउनका लागि फेरि भारतको सिमला नै जान्छु’, उहाँले भन्नुभयो, ‘मिले दशैँ–तिहारमा घर फर्कन्छु, नमिले साथीभाइ आउँदा उहाँहरूसँगै चाडबाड मनाउने पैसा पठाइदिन्छु ।’ 

खटकराजले विगत ३५ वर्षदेखि खेती लगाउन घर आउने र लगाइसकेपछि फेरि कमाउनका लागि भारत जाने गर्दै आउनुभएको छ । नेपालमा जति काम गरे पनि राम्रो पारिश्रमिक नपाउने र पाए पनि ठेकेदारले पैसा नै नदिने उहाँले गुनासो गर्नुभयो । ‘नेपालमै केही गरौँ भन्ने सोच र जाँगर भए पनि कामको उचित व्यवस्थापन छैन, न त मूल्य नै छ’, उहाँले भन्नुभयो, ‘घरपरिवार छाडेर अर्काको देशमा काम गर्न जाने रहर त मलाई पनि कहाँ छ र ? तर गुजाराका लागि पनि जानैपर्ने बाध्यता छ ।’

उहाँझैँ सुर्खेत मेलकुनाका हरि ओली पनि असारे खेतीबाली लगाएर परिवारको छाक टार्न भारतमा मजदुरीका लागि जाँदै गर्दा जमुनाहामा भेटिनुभयो । घरमा स्कुल पढ्ने छोराछोरी छन् । पढाउनलाई र दशैँ–तिहारको जोहो गर्न आफू भारत जानुपर्ने बाध्यता भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो देशमा व्यवसाय गर्न पनि लगानी चाहिन्छ । लगानी लगाएर व्यवसाय गर्न मेरो हैसियतले भ्याउँदैन । रहरले भन्दा पनि बाध्यताले भारतमा मजदुरी गर्न जानुपरेको छ ।’ उमेरले ५६ वर्ष पार गरिसक्नुभएका ओलीले भारत गएर कमाउन थालेको २२ वर्ष भएको बताउनुभयो ।

यसैगरी रोजगारीका लागि भारत जाँदै गर्नुभएका दैलेखका विनय क्षेत्रीको पनि कथा–व्यथा बुढा र ओलीको जस्तै छ । उहाँ पनि बर्खे खेती लगाउनका लागि घर आएको र खेती लगाएर दशैँ–तिहारको जोहो गर्न भारतको सिमला जान लाग्दै गर्दा जमुनाहा नाकामा भेटिनुभयो । उमेरले ४८ वर्ष लाग्नुभएका क्षेत्रीले नेपालमा रोजगारीको अभावसँगै स्वरोजगारका लागि सीप र लागतको पनि अभावले आफू वर्षैपिच्छे भारत जानुपरेको बताउनुभयो । ‘आफूसँग हातमा सीप छैन, व्यापार–व्यवसाय गर्न लगानी छैन, अनि महिना दिन ढुक्कले काम गर्ने रोजगारी पाइँदैन । भारतमा त जस्तो भन्यो त्यस्तै काम पाइन्छ अनि दाम पनि । त्यसैले मजदुरी गर्न भारतको सिमला जान लागेको हुँ ।’

बुबा र काकाको साथमा सानै उमेरदेखि भारतमा गएर मजदुरी गर्दै आएको विनयले बताउनुभयो । विगत १८ वर्षदेखि भारतमा गएर काम गर्न शुरु गर्नुभएका विनयलाई शुरुमा भारतमा जानका लागि आफ्नो देशको नाका पार गर्दा नमज्जा लागेको अनुभव सुनाउनुभयो । ‘पहिलोपटक काम गरेर पैसा कमाउन बुबा र काकासँग भारत गएको थिएँ । त्यतिबेला यही नाकामा म मनैमन रोएको पनि थिएँ । साह्रै नमज्जा लागेको थिए । अहिले त बानी परिसक्यो’, उहाँले भन्नुभयो, ‘आफ्नै गाउँठाउँमा बस्ने रहरलाई मारेर अर्काको देशमा खुन पसिना बगाउन मलाई मन छैन तर यो बाध्यता हो ।’

प्रत्येक वर्ष नेपालगञ्जको जमुनाहा नाका हुँदै दशैँ–तिहारका लागि खर्च जुटाउन भारत जाने नेपालीको लर्को लाग्ने गर्दछ । यस वर्ष पनि असारे खेतीबाली सकेर दशैँ–तिहारका लागि खर्च जुटाउन भारत जाने नेपालीको लर्को सीमा नाकामा देख्न सकिन्छ । असारे खेतीबाली लगाएर रोजगारीको सिलसिलामा दैनिक भारत जाने नेपालीको सङ्ख्या योपटक भने दुई सयभन्दा बढी भएको सीमानाका जमुनाहाले जनाएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया