प्रधानमन्त्री ओलीले भने : म अस्पतालबाट छिट्टै फर्कन्छु र समृद्ध नेपालको सपना साकार पार्छु

 कात्तिक १३, २०७५ मंगलबार १७:१४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपीशर्मा ओलीले आफू अस्पतालबाट चाँडै नै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न  सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सोमबार एक सन्देश प्रकाशन गर्दै त्यस्तो प्रतिवद्धता व्यक्रगर्नुभएको हो ।

‘चिकित्सकहरुले मलाई दिनुभएको जानकारी अनुसार म छिट्टै नै अस्पतालबाट फर्किने छु र तपाईँ हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु’। प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भन्नुभयो, ‘विगतमा झैँ समग्र देशवासी दिदीबहिनी–दाजुभाइहरुको सहयोग र सद्भाव निरन्तर रहनेमा म विश्वस्त छु ।’

प्रधानमन्त्री ओलीले  केही सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यमबाट आफ्नो स्वास्थ्यका बारेमा गरिएको प्रचारबाजीबाट प्रभावित नहुन सबैलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भन्नुभएको छ, ‘सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा गरिएको आधारहिन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारवाजीको मलाई जानकारी छ । यसप्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु ।’

प्रधानमन्त्री ओलीले सन्देशमा मौसमी रुखाखोकी र त्यसबाट हुनसक्ने संक्रमणको रोकथामका लागि आफू त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेको उल्लेख गर्नु भएको छ । 

प्रधानमन्त्री ओलीले मुलुकका केही भागमा घटेका घटनाप्रति चासो व्यक्त गर्नै त्यसमा आफू संवेदनशील भएको उल्लेख गर्नु भएको छ । ‘धर्म, संस्कृतिको नाममा होस वा दलीय बहसको नाममा, आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि दुष्कर्म मान्य हुनै सक्दैन’, प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भन्नुभएको छ, ‘यस्ता प्रकृतिका कार्यमा संलग्न जोसुकैलाई पनि राज्यको प्रशासन र सुरक्षा निकायले कानुन बमोजिम कारबाही गर्छ ।’

दङ्गा, हुल हुज्जत र हिंसाबाट सामाजिक सदभाव बिथोल्ने कार्यले सुशासनलाई विथोल्ने प्रधानमन्त्री ओलीको धारणा छ । शान्ति सुव्यवस्था भङ्ग गर्ने यस्ता अपराधिक कार्यबाट समृद्धिको  महाअभियान विथोलिने र  विकासको मार्ग भत्किने तर्फ पनि प्रधानमन्त्री ओलीले सबैलाई सचेत गराउनु भएको छ ।

आफ्नो स्वास्थ्यका बारेमा चासो र चिन्ता गर्ने राष्ट्रपति, उपराष्ट्रपति,दलका नेता, संवैधानिक अंग विदेशी कुटनीतिक नियोग, कर्मचारीलगायत स्वदेश तथा विदेशबाट आफ्नो स्वास्थ्यलाभको कामना गर्नेहरुलाई प्रधानमन्त्री ओलीले धन्वयाद ज्ञापन गर्दै आफ्नो  सन्देशमा भन्नुभएको छ,  ‘मेरो स्वास्थ्यप्रति यहाँहरु सबैले देखाउनु भएको चिन्ता तथा शीघ्र स्वास्थ्य लाभको कामनाका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’

 


 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया