स्वास्थ्यमा केही सुधार आएपछि प्रधानामन्त्रीले अस्पतालबाटै काम थाले

 कात्तिक १४, २०७५ बुधबार ११:४८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – स्वास्थ्यमा केही सुधार आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक काम सुरु गर्नुभएको छ ।

सोमबार राति महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सुधार आएपछि बुधबार बिहानदेखि अनौपचारिक बैठकमा सरिक हुनुभएको हो । 

उपचारमा संलग्न मुटुरोग विशेषज्ञ तथा सेन्टरका कार्डियोलोजी विभाग प्रमुख प्राध्यापक डाक्टर अरुण सायमीले प्रधानमन्त्री ओलीलाई मंगलबार राति राम्रो निन्द्रा लागेको तथा बिहान अस्पतालमा नै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापासँग सानो अनौपचारिक मिटिङ गर्नुभएको जानकारी दिनुभयो ।

यद्यपी एन्टिबायोटिक औषधिको कोर्स पूरा नहुन्जेल केही दिन प्रधानमन्त्रीलाई अस्पतालमा नै विशेष निगरानीमा राखिने बताउनुभयो ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा निकै सुधार आएपछि उपचारमा संलग्न चिकित्सक पनि खुशी देखिन्थे । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन बुधबार बिहान अस्पताल परिसरमा गरिएको पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्यमा आएको सुधारले आफूहरुको अनुहारमा खुशी छाएको बताउनुभयो ।

प्रधानमन्त्रीको उपचारमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको कार्डियोलोजी विभागका प्रमुख प्राध्यापक डाक्टर अरुण सायमीको नेतृत्वमा डाक्टर दिव्या सिंह र डाक्टर सन्त दास सम्मिलित टोली संलग्न छ । डाक्टर सिंह प्रधानमन्त्रीकी निजी चिकित्सक पनि हुनुुहुन्छ ।
 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया