सूर्यको अध्ययन गर्न भारतले अन्तरिक्ष यान पठायो, १५ लाख किलोमिटर दूरी पार गर्ने

 भदौ १६, २०८० शनिबार १२:३१:१ | एजेन्सी
unn.prixa.net

भारतले सूर्यको अध्ययन गर्न आज अन्तरिक्ष यान पठाएको छ । बिहान ११ बजेर ५० मिनेटमा श्रीहरिकोटमा रहेको अन्तरिक्ष यान प्रक्षेपणस्थलबाट आदित्य एल–१ यान अन्तरिक्षमा पठाइएको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले जनाएको छ ।

चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक यान अवतरण गराउने पहिलो देश बन्न सफल भएको एक हप्तापछि नै भारतले आज सूर्यको अनुसन्धान गर्न अन्तरिक्ष यान पठाएको हो  । अन्तरिक्षमा पठाएको यान सूर्यमा पुग्ने नभइ पृथ्वीबाट १५ लाख किलोमिटर टाढा पुग्नेछ र यसको लागि १ सय २५ दिन लाग्नेछ । दूरी पृथ्वी र चन्द्रमा बीचको दूरीभन्दा झन्डै चार गुणाले बढी हो । तर पृथ्वीबाट सूर्यसँगको दूरीको चाहिँ एक प्रतिशत मात्रै हो ।

पृथ्वी र सूर्यको दूरी १५ करोड १ लाख किलोमिटर रहेको छ । यान पुग्ने भनिएको ठाउँबाट सूर्यलाई निरन्तर रूपमा स्पष्ट देखिने इसराेले जनाएको छ । अभियानले अन्तरिक्षको मौसम केले सञ्चालन गर्छ भन्नेबारे अध्ययन गर्नेछ । यानले सौर्य आँधीको प्रक्रियाका बारे पनि थप धेरै बुझ्ने प्रयास गर्नेछ ।

एक पटक स्थापित भइसकेपछि यो अन्तरिक्ष यानले सूर्यलाई निरन्तर स्पष्ट रूपमा अवलोकन गरिरहन सक्नेछ । यो अन्तरिक्ष यान पाँच वर्षभन्दा बढी समयका लागि अन्तरिक्षमा रहने गरी बनाइएको इसरोले जनाएको छ ।

भारतीय सरकारले सन् २०१९ मा यो परियोजनालाई स्वीकृत गरेको थियो । यसको लागत झन्डै चार करोड ६० लाख डलर लागेको जनाइएको छ । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया