जी–२० को १८ औँ शिखर सम्मेलन सम्पन्न, समीक्षा बैठक नोभेम्बरमा गर्ने प्रस्ताव

 भदौ २४, २०८० आइतबार १७:५१:७ | एजेन्सी
unn.prixa.net

भारतको नयाँ दिल्लीमा हिजो शनिवारदेखि शुरु भएको जी–२० को दुई दिने शिखर सम्मेलन सकिएको छ । आयोजक देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १८ औँ शिखर सम्मेलन सकिएको घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । उहाँले नयाँ दिल्ली सम्मेलनको समीक्षा गर्न आउँदो नोभेम्बरको अन्त्यतिर भर्चुअल समीक्षा बैठक गर्ने प्रस्ताव गर्नुभएको छ । भारत आउँदो नोभेम्बरसम्म जी–२० समूहको अध्यक्ष रहनेछ ।

गएको वर्ष डिसेम्बर १ मा इन्डोनेसियाको बालीमा भएको १७ औँ शिखर सम्मेलनमा भारतले समूहको अध्यक्षता ग्रहण गरेको थियो । दिल्ली शिखर सम्मेलन सकिएको घोषणा गर्नुअघि प्रधानमन्त्री मोदीले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई जी २० को अध्यक्षता हस्तान्तरण गर्नुभएको बीबीसीले जनाएको छ । चक्रीय प्रणालीअनुसार आउँदो डिसेम्बर १ देखि एक वर्षसम्म ब्राजिल समूहको अध्यक्ष हुनेछ । जी २० को १९ औँ शिखर सम्मेलन पनि ब्राजिलमै हुनेछ ।

दिल्ली सम्मेलनले जी–२० शिखर सम्मेलनले घोषणापत्र जारी गरेको छ । रुस–युक्रेन युद्धको विषयले घोषणापत्रमा सहमति जुटाउन सजिलो नहुने अनुमानका बीच सम्मेलनको पहिलो दिन नै विना विवाद सहमति जुटेको बीबीसीले जनाएको छ । घोषणापत्र बलियो, दिगो, सन्तुलित र समावेशी वृद्धि, दिगो विकास लक्ष्यमा प्रगतिको गति, दिगो भविष्यका लागि हरित विकास सम्झौता, २१ औँ शताब्दीका लागि बहुपक्षीय संस्थाहरू र बहुपक्षवादलाई पुनर्जीवित गर्नेमा केन्द्रित छ ।

तर जी–२० नेताहरूको वक्तव्यप्रति युक्रेनले निराशा व्यक्त गरेको छ । युक्रेनले वक्तव्यमा नाम किटाएर रुसको प्रत्यक्ष आलोचना नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेको हो । रुसले भने नयाँ दिल्ली शिखर सम्मेलन सफल भएको बताएको छ । रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले जी २० को इतिहासमा पहिलो पटक औद्योगिक  एवम् आर्थिक विकासको बाटोमा बिस्तारै अग्रसर भइरहेका देशलाई वास्तवमै एकताबद्ध गर्न समूहको नयाँ दिल्ली शिखर सम्मेलन सफल भएको बताउनुभएको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया