अर्घाखाँचीमा पाइँदैनन् विज्ञान र गणितका शिक्षक

 असोज ३, २०८० बुधबार १९:५५:५४ | प्रेमनारायण आचार्य
unn.prixa.net

प्रतीकात्मक तस्बिर

अर्घाखाँची – अर्घाखाँचीका विद्यालयहरूले गणित र विज्ञान विषयको पटक–पटक विज्ञापन आह्वान गर्दा पनि शिक्षक पाउन सकेका छैनन्  । पढेलेखेका युवा राेजगारी तथा अध्ययनका लागि विदेश जाने क्रम बढेपछि विद्यालयमा शिक्षक पाउन नसकिएकाे हाे ।

पहिले विद्यालयमा शिक्षकको कमी हुँदैन थियाे । तर पछिल्लो समय अर्घाखाँचीका विद्यालयले पटक–पटक शिक्षकको विज्ञापन आह्वान गर्दा पनि पाउन नसकेको शिक्षा विकास तथा समन्वय इकाइ अर्घाखाँचीका प्रमुख मणिराम पराजुलीले जानकारी दिनुभयाे ।

शितगंगा नगरपालिका–९ मा रहेको पाकुरी माध्यमिक विद्यालयले गणित र विज्ञान विषयको शिक्षकका लागि पटक–पटक गरी तीन पटक विज्ञापन आह्वान गर्दा पनि पनि पाउन सकेको छैन । नगरपालिकाको विकट क्षेत्र मानिने सिद्धाराको पाकुरी माविमा गणित र विज्ञान विषयको शिक्षक पाउन नसकेपछि पढाइ प्रभावित भएको शितगंगा नगरपालिकाका शिक्षा अधिकृत विनोद पोख्रेलले बताउनुभयो ।

शितगंगा–९ लामातालमा रहेकाे विष्णुपथ चौपारी आधारभूत विद्यालयले पनि गणित र विज्ञान विषयको शिक्षकका लागि तीन पटकसम्म विज्ञापन आह्वान गर्दा पनि पाउन सकेको छैन ।

मालारानी गाउँपालिकामा रहेको वीरेन्द्र माध्यमिक विद्यालयमा चार महिनादेखि गणित विषयको शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको छ । शिक्षक आह्वानका लागि तीन पटकसम्म विज्ञापन आह्वान गर्दा पनि माध्यमिक तहको शिक्षक दरबन्दीमा कसैकाे दरखास्त नपरेको विद्यालयका प्रधानाध्यापक कमल पछाई बताउनुहुन्छ । पढेलेखेका युवा रोजगारी तथा अध्ययनका लागि विदेशमा गएर नफर्किएका कारण शिक्षक पाउन नसकिएको उहाँकाे भनाइ छ ।

विज्ञान र गणित विषय लिएर पढेका विद्यार्थीहरूकाे पहिलो रोजाइ वैदेशिक यात्रा, दोस्रोमा लोक सेवा आयोग र तेस्रोमा मात्र शिक्षक सेवा रहेकाले पनि गाउँका विद्यालयमा यी विषयका शिक्षक पाउन मुस्किल भएको हो ।

पाणिनि गाउँपालिका–७ काे जनसेवा माध्यमिक विद्यालयले माध्यमिक तहमा विज्ञान विषयको शिक्षक आह्वानका लागि पहिलो पटक गएकाे साउनमा विज्ञापन गर्‍याे । तर कसैकाे दरखास्त परेन । पटक–पटक गरी पाँच पटक विज्ञापन गरेकाे विद्यालयका प्रधानाध्यापक शालिकराम बेल्वासेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पाँचौँ पटकको विज्ञापनमा दुई जनाले दरखास्त दिएका छन् । परीक्षा नहुँदै शिक्षक पायौँ भनेर भन्न सकिने अवस्था छैन ।’

आर्थिक वर्ष २०७९/८० मा विदेशमा पढ्न जान एक लाख जनाभन्दा धेरैले अनुमति लिएका सरकारकाे तथ्याङ्क छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति (एनओसी) शाखाका अनुसार २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्म एक लाख १० हजार दुई सय १७ जनाले एनओसी लिएको तथ्याङ्क छ । अस्ट्रेलिया, क्यानडा, बेलायतका लागि एनओसी लिने बढी देखिएका छन् । नेपालबाट विभिन्न एक सय ११ वटा देश जानका लागि विद्यार्थीहरूले एनओसी लिएका शाखाले जनाएको छ ।

बढ्दो बसाइँसराइका कारण पनि अर्घाखाँचीका विद्यालयहरूमा विद्यार्थीकाे सङ्ख्या घट्दो छ । सदरमुकामका केही निजी विद्यालयमा विद्यार्थीको चाप बढे पनि गाउँका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दो क्रममा छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया