प्राधिकरणले भारतलाई २ महिनामा ५ अर्ब ४३ कराेड रुपैयाँकाे बिजुली बेच्याे

 असोज ४, २०८० बिहिबार १७:८:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – चालु आर्थिक वर्ष २०८०/८१ को २ महिनामा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको बिजुली भारत निर्यात भएकाे छ ।

नेपाल विद्युत् प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँको बिजुली भारतीय बजारमा निर्यात गरेको छ । २ महिनामा ३ अर्ब ३९ करोड ५७ लाख भारतीय रुपैयाँको (५ अर्ब  ४३ करोड ३१ लाख रुपैयाँ) काे बिजुली निर्यात भएको हो ।

साउन र भदौमा भारत निर्यात गरिएको बिजुलीकाे प्रतियुनिट औसत बिक्री दर क्रमशः ८ रुपैयाँ १३ पैसा र १२ रुपैयाँ २७ पैसा छ । २ महिनाको समग्र औसत बिजुली बिक्री दर प्रतियुनिट १० रुपैयाँ ३७ पैसा छ ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको बिजुली भारत निर्यात गर्दै आएको छ । प्रााधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केही अघिदेखि मध्यकालीन विद्युत् सम्झौताबमोजिम झन्डै ११० मेगावाट बिजुली भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लि– एनभीभीएनलाई बिक्री गरिरहेको छ ।

भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट बिजुली निर्यातका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।  

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली निर्यातबाट नेपालको विदेशी मुद्रा सञ्चिति र २ देशबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको बताउनुभयो । ‘देशभित्र उत्पादित बिजुली यहीँ खपत गर्न पूर्वाधार संरचनाको सुधार तथा सुदृढीकरण गरिरहेका छौँ, बिजुली नपुगेका ठाउँमा बिजुली पुर्‍याउनका लागि विद्युतीकरणको काम पनि चलिरहेको छ’, घिसिङले भन्नुभयो, ‘खपत गरी बचत भएको बिजुली निर्यात गर्न २ देशबीचका अन्तरदेशीय प्रसारण सञ्जाललाई थप विस्तार तथा पूर्णरूपमा प्रयोगमा ल्याउन पहल गरिरहेका छौँ ।’

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया